अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेनले दिइन् राजीनामा

२५ चैत, काठमाडौं । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन निलसनले पदबाट राजीनामा दिएकी छन् । उनी प्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिको प्रमुख योजनाकार मानिन्छिन् ।

उनले राजीनामा दिनुको कारण नखुलेको बीबीसीले जनाएको छ । उनले आफ्नो कार्यकाललाई जीवनभरको सम्मान भनेकी छन् । उनले राजीनामा पत्रमा लेखेकी छन्, ‘यस विभागमा सहयोगीहरुसँग रहेर सेवा, समर्पण र प्रतिबद्धताका साथ काम गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो ।’

राष्ट्रपति ट्रम्पले निलसन अस्थायी रुपमा जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन् । उनले ट्वीट गर्दै निलसनको स्थानमा सीमा शुल्क तथा सीमा सुरक्षा आयुक्त केविन म्याकलेनन नियुक्त गरिएको जानकारी दिएका छन् । ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘होमल्याण्ड सेक्युरिटी प्रमुख क्रिस्जेन निलसनले आफ्नो पद छाड्नेछिन् र म उनको उत्कृष्ट सेवाको लागि धन्यवाद दिन चाहान्छु ।’

सुश्री निलसनले ट्रम्प सरकारको विवादास्पद सीमा नीतिको बचाउ गरेको भन्दै आलोचना खेप्दै आएकी थिइन् । सुश्री निलसन जनवरी २०१७ देखि ट्रम्प प्रशासनमा सामेल भएकी थिइन् । उनी पूर्व गृह सुरक्षा प्रमुख जोन केलीको सहयोगी थिइन् । जब केली ह्वाइटहाउसमा चिफ अफ स्टाफ बने तब निलसन गृह सुरक्षा उपप्रमुख बनिन् । एक वर्ष पछि उनले प्रमुखको जिम्मेवारी पाइन् ।

राष्ट्रपति ट्रम्पसँग उनको त्यति सम्बन्ध सुमधुर नभएको बताइन्छ । यद्यपि निलसनले सार्वजनिक रुपमा ट्रम्प प्रशासनको विरोध गरेको थाहा पाइएको छैन ।

राष्ट्रपति ट्रम्पले दक्षिणी सीमाको भ्रमण गरेको केही दिनमै निलसनको राजीनामा आएको छ । राष्ट्रपति ट्रम्पले प्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनका लागि मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने बताउँदै आएका छन् । अमेरिकामा लागुऔषध भित्राउने तथा अवैधरुपमा प्रवासी प्रवेश गर्ने काम एक वर्षभित्रै रोक्ने ट्रम्पले बताएका छन् ।

You might also like