हेल्थ असिस्टेन्ट संघमा विवाद चुलियो, अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौं : हेल्थ असिष्टेन्ट संघ, नेपाल (हान)का अध्यक्ष दाताराम अधिकारीलाई बर्खास्त गरिएपछि विवाद चुलिएको छ । केन्द्रीय समितिकोे बैठकले बर्खास्त गरिएपछि पदाधिकारीको विवाद उत्कर्षमा पुगेको हो ।

केन्द्रीय समितिको सोमबार बसेको बैठकको निर्णय अनुसार बहुमत सदस्यको उपस्थितिमा अध्यक्ष अधिकारीलाई बर्खास्त गरिएको हानका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले जानकारी दिए । अध्यक्ष अधिकारीलाई आर्थिक अनियमिततामा संलग्न भएको,कर्मचारी समायोजनको क्रममा भूमिका निर्वाह गर्न नसकेको , चरम राजनीति गरेको लगायत पेशागत मर्यादा कायम गर्न नसकेको लगायत नौवटा अभियोग लगाइएको छ ।

बरिष्ठ अध्यक्ष खड्काका अनुसार चारजना सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि समितिको बैठक बोलाइएको थियो । ‘पन्ध्र सदस्यमा दश जनाले बर्खास्त गरिएको माइन्युटमा हस्ताक्षर गरेका छन् । बैठकमा बोलाउँदा पनि नआउने र राजीनामा पनि नदिएका कारण बर्खास्त गरिएको हो ।’ बरिष्ठ उपाध्यक्ष खड्काले भने । अध्यक्ष अधिकारीले संस्थाको विधान अनुरुप प्रत्येक दुई—दुई वर्षमा गर्नुपर्ने साधारण सभा समेत पाँच वर्षसम्म गर्न नसकेको आरोप लगाइएको छ ।

बर्खास्त गरिएको भनिएका अधिकारीलाई हानका सचिव दीर्घबहादुर बोगटी लगायतका पदाधिकारीले समर्थन गरेका छन् । सचिव बोगटीले भने, ‘बहुमतको निर्णय होइन । विधानलाई लत्याइएको छ । बर्खास्त गरेको सुनेर हामी अचम्मित छौं ।’

सचिव बोगटीका अनुसार, बहुमत पदाधिकारी बसेर बर्खास्त गरिएको जानकारी झुटो भएको पुष्टि गर्ने तयारी भइरहेको बताए । पन्ध्र सदस्यीय पदाधिकारी मध्ये आठ जना आफ्नो पक्षमा रहेको सचिव बोगटीले दावी गरे । संघमा झण्डै पाँच हजार हेल्थ असिस्टेन्ट सदस्य रहेका छन् ।

You might also like