२०७६ बैशाख १ गतेदेखि बैंक खाता खोल्ने अभियान चलाइने

काठमाडौं । नयाँ वर्ष २०७६ बैशाख १ देखि बैंकमा खाता खोल्ने अभियान शुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकमा खाता खोल्ने अभियान सञ्चालन गर्ने भएपछि बैशाख १ गते नेपाल बैंकर्स संघमा आबद्ध सबै बैंकहरुले देशभर बैंकका शाखा खोल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७६ देखि ‘खोलौं बैंक खाता’ अभियान सञ्चालन गर्न लागेको छ । नयाँ वर्षदेखि बैंक खाता खोल्नेहरुको खाता बैंकले संस्थागत सामाजिक सुरक्षाकोषबाट १०० रुपैयाँ सित्तैमा जम्मा गरिदिने व्यवस्था समेत गरिएको छ । हरेक नेपालीको बैंक खाता खोल्ने सरकारको अभियानलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।

यसका लागि राष्ट्र बैंकले बैंक खाता खोल्ने प्रकृयालाई पनि सहज बनाएको छ । बैंकखाता खोल्दा कुनैपनि कागजात अनिवार्य गरेको छैन् । तीनपुस्ते पनि खुलाउनु पर्दैन् । नागरिकता, राहदानी, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, सरकारी निकायले जारी गरेको फोटो सहितको परिचयपत्र अथवा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिस मध्ये कुनै एउटा कागजातको आधारमा खाता खोल्न सकिने छ ।

त्यस्तै बैंकहरुले खाता खोल्ने फारमलाई पनि सजिलो बनाउने भएका छन् । तर यस्तो खातामा वार्षिक १ लाख रुपैयाँ सम्म मात्र कारोबार गर्न पाइने छ कारोबार रकम १ लाख रुपैयाँ नाघेमा भने तीनपुस्ते सहितको सम्पुर्ण विवरण बुुझाउनुपर्ने व्यवस्था गरिएको छ ।न्युज २४ मा समाचार छ ।

You might also like