सौभाग्य भनौँ वा दुर्भाग्य, गर्भवती पो भएछु- योद्धा टिका बुढाथोकी

एउटा गीत छ नि ! ‘सोचे जस्तो हुन्न जीवन…!’ मेरो जीवन पनि आम मान्छेले सोच्ने जस्तो छैन । अक्करमा उभिएर तल हेर्दा शरीर काँप्छ नि डरले, हो त्यसैगरी काम छुट्छ मलाई अहिले पनि । अक्सर जिन्दगीबारे नसोचु भन्छु । कसैलाई नसुनाउँ भन्छु । तर, पनि कहिलेकाँही मन फुटेर आउँछ । हृदय भक्कानिएर आउँछ । अनि कहिलेकाँही त आफूले बिताएको जिन्दगी दन्त्यकथाको डरलाग्दो ‘अध्याय’ जस्तो लाग्छ ।

सल्यानको एउटा विकट गाउँमा जन्मिएँ । जसोतसो खान पुग्ने परिवार मेरो । बाल्यकाल सामान्यरुपमै बित्यो । विद्यालय नजिक थिएन । तीन घण्टाको कष्टपूर्ण ओहोरदोहोर गर्नुपर्ने । ०४६÷४७ सालतिरको समय हो, उमेरका हिसाबले भर्खर १५÷१६ पुगेकी थिएँ । स्कुलमा राजनीतिक माहोल चाहिँ अचम्मलाग्दो थियो हामी विद्यार्थीका लागि । आफूसँगैका कुनै साथी कुनै संगठनमा आबद्ध भए अर्काेको लागि त्यो इष्र्याको विषय बन्थ्यो । स्कुलको यस्तो वातावरणमा मलाई पनि राजनीतिले आकर्षित ग¥यो । ०४८ सालतिर हो क्यारे म पनि कम्युनिष्ट पार्टीको भातृ संगठनमा आबद्ध भएँ । मलाई पहिलो राजनीतिक चेत यहीँबाट प्राप्त भयो, जो आजपर्यन्त छ ।

मेरो सक्रिय राजनीतिक जीवन ०५२ सालपछि सुरु भएको हो । त्यो समय मेरो जीवन अत्यन्त द्विविधापूर्ण थियो । विद्यार्थी संगठनमा काम गर्दाको समयमा मेरो झुकाव मसँगै काम गर्ने सहयात्रीसँग भयो । सायद प्रेम नै भन्यौँ क्यारे । यो कुरा पार्टीलाई पनि जानकारी थियो । सक्रिय राजनीति गर्ने निर्णय लिएपछि पार्टीले अझै अर्काे निर्णय लिन बाध्य जस्तै गरायो । पार्टीको निर्देशन थियो ‘तपाईंहरु विवाह गर्नुहोस् । विवाह पश्चात नै पार्टीमा सक्रिय रुपले काम गर्न सकिन्छ ।’ त्यतिखेर व्यक्तिगत विचारभन्दा पनि सांगठनिक विचार महत्त्वपूर्ण लाग्थ्यो । अझ भनौँ पार्टीले भनेको कुरा नै सबैथोक र अन्तिम लाग्ने । ठीकै त होला भनेर असजिलो–असजिलो अवस्थामै मेरो विवाह भयो । खास त मलाई विवाह, सन्तान भन्ने कुरामा त्यति रुची थिएन । म त देश बनाउन हिँडेकी मान्छे पो थिएँ । पछि बुझेर ल्याउँदा विवाह गरिदियो भने यिनीहरु परिबन्दमा पर्छन् र पार्टीमा निरन्तर काम गर्छन भन्ने चाल रहेछ नेतृत्वको ।

पहिले अर्धभूमिगत रुपमा पार्टीमा आबद्धता थियो मेरो । संगठन निर्माणको लागि गाउँबाट धैरै टाढा जानुपर्दथ्यो । म सँग एकजना साथी पनि थिइन खला केसी । यसक्रममा सल्यानकै झिम्के गाउँबाट हामीलाई पुलिसले पक्राउ गर्याे । यो ०५३ सालको कुरा हो । पुलिसले पक्राउ गरिसकेपछि मानसिक रुपमा म विक्षिप्त जस्तैै भएँ । पुलिसको धरपकडपश्चात दिएका यातनाका समाचारहरुले हृदय कोतर्न थालेको थियो । यो देशमा उज्यालो ल्याउँछौँ भनेर हिँडेको मलाई अँध्यारोले एक्कासी गर्लम्म पुरेको थियो । आँखा अगाडिका दृश्य अप्ठ्यारा, काला र डरलाग्दा थिए । तर, हामीलाई पक्राउ गरेर थुनामा लगिसकेपछि पुलिसको व्यवहार अपत्यारिलो भयो । समाचारमा आउने जस्ता कुनै पनि क्रुर र आततायी व्यवहार थिएनन् । बरु हाम्रो बाटो कसरी गलत छ भनेर डि.एस.पिए.ले आफ्नो तर्क दिइरहेका थिए । उनी भन्थे ‘माओवादीले साम्यवाद ल्याउँदैन ।’ खलङ्गाको अग्लो टाकुराबाट तल देखाएर भन्थे ‘एउटा मान्छेलाई साँझ सबैले भात पकाएर खाने हो भन्यो भने उसले दुई माना मात्र चामल लैजान्छ तर त्यही मानिसलाई आफ्नो घर लैजा भन्यो भने एक क्विन्टल लैजान्छ । त्यसैले साम्यवाद झूटो हो । यो झूटो बाटो नलाग ।’ तर रमाइलो कुरा के भने म अहिले काम गर्ने राष्ट्रिय सहकारी महासङ्घमा मेरी साथी देवी मल्ल पनि हुनुहुन्छ । हामीलाई पक्रिने उहाँकै श्रीमान हुनुहँुदो रहेछ । आजकल उहासँग हार्दिक सम्बन्ध छ ।

हाम्रो जेलको बसाइ छ महिना जति रह्यो । जेलबाट निस्केपनि पटक–पटकको जेलको तारिखले म दिक्क भैसकेकी थिएँ । त्यसपछि दैनिकजसो पुलिसले घरमा आएर मानसिक तनाव दिन थाल्यो । म आफ्नै घरमा आनन्दले बस्न सकिनँ । त्यसपछि म पूर्ण भूमिगत भएँ । त्यसको छ महिनापछि मेरी साथी खला केसी पनि भूमिगत हुनुभयो । उहाँ विवाहित हुनुहुन्थ्यो र पेटमा बच्चा पनि रहेछ । यहि अवस्थामा उहाँ पुनः पक्राउ पर्नुभयो । छ महिना जेलमा बस्दा अनुभव गर्नु नपरेको तर समाचारमा सुनिने प्रहरीका क्रुर र अमानवीय रुप यहाँ देखापरे । उहाँलाई प्रहरीले नाङ्गो बनाएर आगो लगाई नृसंसपूर्ण गैरन्यायिक हत्या गर्यो ।
विवाह त गरियो तर समाजमा विवाहपछि जुन प्रचलित सम्बन्ध हुन्छ, त्यसको अनुभूति गर्ने समय नै मिलेन । युद्ध आवेगी रुपमा अगाडि बढ्दै थियो । संगठन निर्माण र युद्धको मोर्चामा अहोरात्र खट्दा व्यक्तिगत सम्बन्ध र जिन्दगीबारे सोच्ने निजी अपेक्षा पनि थिएनन् । बस विवाह गरियो । त्यतिबेला भेटका लागि न त चिठीपत्र आदानप्रदान हुन्थ्यो न त सम्पर्कका अन्य माध्यम । यो बीचमा मुस्किलले ४÷५ पटक मात्र श्रीमान्सँग कार्यक्रममा भेट भयो । सौभाग्य भनौँ वा दुर्भाग्य, गर्भवती पो भएछु ।

बच्चा पेटमा हुँदा म सल्यान मै थिएँ । जिऊ भारी भैसकेको थियो । खाने,बस्ने र हिँडाइको कुनै गति थिएन । तर, युद्धको गति भने तिव्र रुपमा अघि बढिसकेको थियो । मलाई भने कताकता कुनै कुराले अल्झाइरहेको जस्तो लाग्थ्यो । त्यो अल्झाइ पेटमा भएको बच्चाको कारणले थियो । सामान्य जीवन बाँचेको भए आमा हुनुको असिम आनन्द मेरो छातीमा हुँदो हो । कल्पनै कल्पनामा अनेक कथा बुन्दी हुँ । तर, सत्तासँग पार्टीको दोहोरो घर्षणमा यति कोमल अनुभूति गर्ने समय कहाँ पाएँ र ? मेरो लागि पेटको बच्चा एउटा द्विविधा जस्तै भयो । जन्म दिऊँ त कहाँ दिऊँ ? फालौँ त कहाँ फालौँ ? गाउँ शहरमा पुलिसको गस्तीले सुरक्षित ‘गर्भपात गर्न सक्ने अवस्था पनि थिएन । सल्यान छाडेर रुकुमको एउटा घरमा गई अन्ततः छोरी कामनालाई जन्म दिएँ । त्यस दिनको सम्झनाले मुटु पनि काँपेर आउँछ ।

रातको १० बजेको थियो । पुलिसले गाउँ घेरिसकेको रहेछ । एकातिर नवजात छोरीको माया, अर्काेतिर आफ्नो ज्यानको माया । त्यो रात संयोगले बाँचियो । भोलिपल्ट छोरीलाई त्यहीँ छाडेर घाँसीको भेषमा डोको बोकेर जंगल गएँ । चिसो समय थियो । दिनभरि जंगलमै बसे । भोक प्यास त सहने बानी परेको थियो तर सुत्केरी अवस्थाको त्यो अनुभव पहिलो थियो । दिनभरि जंगलमा बस्दा चिसोले हात खुट्टा सुनिन थालेका थिए । शरीर एकदम कमजोर भएको थियो । उपचारको लागि बाहिर जान सक्ने अवस्था पनि थिएन । एकजना बुज्रुकले भैँसीको गोबरमा तीते पातीको रस मुछेर राखेपछि त्यसमाथि आउने पानी खायो भने सञ्चो हुन्छ भनेपछि त्यो पानी पनि खाँए ।

जंगलमा जाँदा छोरीलाई सँगै लिएर हिँड्थे । एक्लो ज्यानलाई जोगाउन हम्मे–हम्मे परिरहेको बेला अब छोरी पनि थपिएकी थिई । भुँईमा राख्दा रुन्छे अनि पुलिसले थाहा पाउँछन् भनेर कति रात र दिन छातीमै टाँसेर राखिरहे । ऊ मस्त निदाउँथी, म उसको निर्दाेष अनुहार हेरेर बस्थे । ऊ निदाँउथी मलाई निद्रा पुग्थ्यो । आमा बन्नु भनेको सायद पहाड हुनु रहेछ । यसरी नै छोरी १६ महिनाकी भई ।

०५५/५६ सालतिर संसदीय निर्वाचनको माहोल थियो । पुलिसले गाउँ शहर सबैतिर चर्काे अर्पेसन चलाएको थियो । धरपकड र हत्या उत्कर्षमा थियो । यही समय खबर आयो ‘तपाईको श्रीमान् सहिद हुनुभयो ।’ पृथ्वी घुम्छ भन्थे, बिक्षिप्तताले रिगँटा लागेपछि महसुस गरे कि साँच्चिकै पृथ्वी घुम्दो रहेछ । फूलका पातमा शित ओभाउनै बाँकी थियो । आँखा सामुन्ने डाडाँमा भर्खर सूर्यले आफ्नो लाली भर्दै थियो । तर मलाई भने उदाउँदै गरेको सूर्य अध्याँरो कोठामा झ्याप्प निभेको बत्ती जस्तै लाग्यो निष्पट्ट । मेरो जीवनको लाली सामन्ती सत्ताको क्रुर बन्दुकले आगोको लप्कामा रुमल्लिएर धुवाँ–धुवाँ, खरानी–खरानी बनाइसकेको थियो । त्यो बीचमा उनले जम्मा जम्मी एक पटक मात्र सुम्सुम्याउन पाएका थिए छोरीलाई । अन्ततः मन बुझाएँ– उनको शरीर म सँगै नभए पनि उनको अंश त मैसँग छ । छोरीको जीवनको गह्रा–गह्रामा बगेको पानी पनि उनकै रगत न हो ।

उसै पनि छोरी सानै तर बाबु गुमाइसकेकी थिई । पुलिसको ज्यादतीले उसकी आमा अर्थात ‘म’ पनि गुम्न सक्ने खतरा उत्तिकै थियो । यसर्थ तत्काल कुनै सुरक्षित निर्णय लिनुपर्ने भयो । पुलिसहरु दिनहँु जसो मेरो घर र आफन्तकोमा ‘रेकी’ गरिबस्थे । त्यसैले छोरीलाई आफ्नो घरमा राख्ने कुरै भएन । बिरालोले आफ्नो बच्चालाई हुर्काउन एक ठाउँबाट अर्काे ठाउँमा सारेजस्तै म पनि कहिले कसको त कहिले कसको घरमा सारिरहें । यसरी छोरीलाई घर–घर सारिरहँदा म पनि त्यही त्रस्त, असुरक्षित र मातृत्व वात्सल्यले भावविभोर बिरालो नै त होइन भन्ने लाग्थ्यो ।

बिहान गुँडबाट भुर्र उडेर गएको चरी साँझ गुँडमा फर्किन्छ । आफ्ना बच्चालाई खुवाउँछ । तर म पहिलो पटक आफ्नो सन्तानलाई जन्म दिएकी आमा थिएँ । म हप्तौँ र महिनौँसम्म आफ्नो सन्तानको मुख हेर्न पाउँदिनथें । उसको कलिलो आवाजको गुनगुन सुन्न पाउँदिनथें । पाउँथें त केवल दिनदिनैको छाती चर्काई । दिनदिनैको अत्यास मात्र । यस्तो लाग्थ्यो एउटा गह्रौँ ढुङ्गाले मलाई थिचिरहेको छ ।

छोरीलाई आक्कल झुक्कल भेट्न जान्थे । आमाले छाडेर जान्छे कि भनेर उसले अङ्गालो हालेर सुत्थी । राती उसको हात विस्तारै भुँईमा झारेर रुदै आफ्नो कार्यक्षेत्रतर्फ फर्किन्थे । म त्यो समय छोरीको आमा नभई दिदी पनि भएँ । पुलिसहरुले छोरीलाई तेरी आमा कहाँ छ भनेर सोध्ने रहेछन् । उसले आफ्नी आमाको बारेमा नबताओस् भनेर दिदी भन्न सिकाएकी थिएँ । निकै पछिसम्म पनि छोरीले मलाई दिदी नै भनिरही ।

मेरो बुबालाई रक्सीको अम्मल थियो । हरेक दिन रक्सी खानुपर्ने आदतले उहाँले पारिवारिक दायित्वलाई कहिल्यै बहन गर्नुभएन । आमाले जन्म त दिनुभयो तर हरेक दिनको घाँस दाउरा र खेतीपातीको काममा अल्झिनुपर्ने भएकोले आमाको प्रेमको चहकिलो सम्झना छैन । म घरकी कान्छी छोरी सबैको प्यारी । तर, मैले खास प्रेमको अनुभूति मेरी हजुरआमाबाट पाएँ । घरको आर्थिक अवस्था हजुरआमाले नै सम्हाल्ने हुनाले मेरा कलिला रहरहरु सजिलै पूरा हुन्थे । घाँस दाउरा गर्न भाउजुले जाउँ भन्दा हजुरआमा भाउजुलाई भन्नुहुन्थ्यो ‘घाँस दाउरा गर्ने काम तेरो हो, यसको काम पढ्ने हो, पढ्न दे ।’

पछि म भूमिगत हुँदा पनि सबैभन्दा दुःखी पनि हजुरआमा नै हुनुभयो । साँझ नातिनी कुन बेला आउँछे भनेर दिनहुँजसो खाना पकाएर कुर्नुहुन्थ्यो रे ! जाडोको समयमा मलाई जाडो भयो कि भनेर रातभरि अनिँदो बसी सिरक हेरेर बस्नुहुन्थ्यो रे ! म घर जाँदा पुलिस आउँछ कि भनेर सतर्क रहन्थे । यस्तो बेला हजुरआमा भन्नुहुन्थ्यो ‘तँ ढुक्क भएर बस पुलिस आए मैले जानेकी छु ।’ पुलिसले हजुरआमासँग तेरो नातिनी माओवादीमा लागेकी छ भन्दा रहेछन् । हजुरआमा उनीहरुलाई मेरी नातिनी पढ्न गएकी छे, माओवादी भन्या को हो म जान्दिनँ भन्नुहुन्थ्यो रे ! उहाँ निकै हक्की र निडर हुनुहुन्थ्यो । मलाई पनि हक्की बन्ने प्रेरणा उहाँबाटै प्राप्त भयो ।

मेरो गाउँ ‘प्युरे’ जंगलको बीचमा थियो । बाहिरका मानिस हामीलाई जंगली भन्थे । काजी, पुरेत र जिम्मावालको हालीमुहाली थियो । उनीहरु एकआपसमा कहिल्यै मिल्दैनथे तर एउटालाई दबाउनुपर्याे भने अर्काेसँग क्षणिक रुपमा मिल्ने सामन्ती प्रवृत्तिले ग्रस्त थिए । हरेक चाडमा उनीहरुको घर कोशेली बोकेर जानुपर्दथ्यो । यस्तो दमनमा हामी हुर्कियौँ । संगठनमा आबद्ध भएपश्चात हामी त्यो सामन्ती संस्कार भत्कायौँ । तुलनात्मक रुपमा समतामुलक बनायौँ । त्यो समय हामीले एउटा गीत पनि बनाएका थियौँ–

प्युरे खोला

उस्तै कहाँ होला ?

श्रीमान् युद्ध मैदानमा सहिद भएपनि सामाजिक न्याय र समताका लागि उहाँसँगै देखेका सपनाहरु बाँकी थिए । सामाजिक जीवनका अभिभाराहरु ज्यूँका त्यूँ थिए । युद्धको मैदानमा त यसकै निम्ति म आफ्नो जीवन पनि बलिदान गर्न तयार थिएँ । जसै कार्यभारहरुलाई असरल्ल छाडेर पार्टी पुरानै राजनीतिक संस्कारमा विलिन भयो, त्यहीँबाट व्यक्तिगत जिन्दगीको खोजी हुने नै भयो । मसँग उमेर थियो । यौवन थियो र थियो सिङ्गो जिन्दगीलाई एक्लै बोकी हिँड्नुपर्ने कष्टपूर्ण यात्रा ।

युद्धको समयमा आफ्नो विवेक, चेतना र निर्णयले हिँडेकी थिएँ । पुराना संस्कारसँग विद्रोह गरेर नयाँ संसार बनाउने बाटोमा थिएँ । पुराना सस्कारसँग बिद्रोह गरेर नयाँ संसार निर्माण गर्न हिँडेकी मलाई विभिन्नखाले प्रश्नहरुले खासै असर पर्दैनथ्यो । आफूले निर्माण गर्ने भनेको नयाँ संसारको परिकल्पना र संघर्षले जीवनयापन सम्बन्धी पुराना प्रश्नहरुलाई इन्कार गर्न मलाई सजिलो थियो ।

शान्ति प्रक्रियाको नाममा पार्टीले आफ्नो क्रान्तिकारी चेतना विसर्जन गरिसकेपछि हिजो आफूले विद्रोह गरी हिँडेको संस्कारसँग पुर्नस्थापना हुन अप्ठ्यारो भयो । पुनःविवाह किन नगरेकी ? जीवनका अन्तिम क्षण कसरी कट्लान ? यस्तै यावत प्रश्नहरुले प्रहार गरिरहे । तर सामुहिक जीवनको नयाँ संसार निर्माण गर्न असफल भए पनि व्यक्तिगत रुपमा आफ्नो जिन्दगीलाई सुन्दर बनाउन र बाँच्नको निम्ति विवाह नै अन्तिम र सजिलो विकल्प हो भन्ने कहिल्यै लागेन ।

छोरीसँग बाल्यकालमा पर्याप्त समय बिताउन नसकेको तिर्सना त बाँकी नै थियो । सामाजिक जीवनको लागि संगठनमा आबद्ध पनि हुँदै गएँ । जीवनलाई सक्रिय बनाउनको लागि मलाई सामुन्नेमा छोरी भइदिए पनि पर्याप्त थियो । उसको लालनपालन र उचित मार्गदर्शनको लागि मसँग नयाँ सपनाहरु छन् । खुसीले बाँच्नको निमित्त तिनै सपना प्रयाप्त छैनन् र ? पहिले असहाय रुपमै गुँडमै छाडेर हिँडेकी थिएँ मेरी छोरीलाई । ऊ आज आफ्नै सपनाको पखेटामा भुर्र उडेर सात समुद्रपारी छे ।

जीवनमा सुख र दुखको कथा नहुने मान्छे को होलान् र ? म सँग पनि छन् । तर, मसँग गर्वले बाँच्नका निम्ति सामन्ती संस्कारका विरुद्ध लागेको महान सहिदकी छोरी छे । उसले दिएको ‘मान्छेहरुलाई माया गरिराख्ने प्रेमपूर्ण विचारको दियो’ हर साँझ मेरो जिन्दगीमा बलिरहेको छ । बाँच्नको निम्ति मेरा लागि त्यही नै पर्याप्त छ ।

(टिका बुढाथोकी माओवादी जनयुद्धमा लागेकी सक्रिय योद्धा तथा जनयुद्धका सहिद गणेश शर्मा (सन्देश) की पत्नी हुन् । शर्माकाे २०५१ कात्तिक ९ गते रुकुमको चुनवाङ चौकी कब्जा गर्ने क्रममा शहादत प्राप्त भएको थियो ।)

लेखन/प्रस्तुतिः सुनिता न्यौपाने

You might also like