राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत छ, सचिवालयको दुरुपयोग गरे : प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको जिकिर गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केही सन्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको जिकिर गरेका हुन् ।

शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गरेकी थिइन् ।

त्यसलाई लिएर विभिन्न टिप्पणीहरु भएपछि प्रधानमन्त्री ओलीले स्पष्टोक्ति दिएका हुन् ।

बौद्धिक वर्गलेसमेत राष्ट्रपतिको भनाइप्रति टिप्पणी गर्दा आफूलाई आश्चर्य लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिप्रश्न

प्रधानमन्त्री ओलीले विश्वको कुरा थाहा नपाएपनि ‘छिमेकी मुलुक भारतको कुरा बौद्धिक वर्गले थाहा नपाउनु दुःखद्’ भएको बताए ।

मेरो सरकार भन्ने अन्तर्राष्ट्रिय प्रचलन भएकाले यसलाई उचाल्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले भर्खरै राजतन्त्र गएकाले कसै–कसैलाई झ–झल्को लाग्नु स्वाभाविक भएको भन्दै ‘मेरो सरकार’ नभनेर राष्ट्रपतिले ‘कसको सरकार भन्ने ?’ भनी प्रतिप्रश्न गरे ।

‘सचिवालयको दुरुपयोग’

प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास खर्च योजना आफूले नमागेको प्रष्टीकरण दिए ।

‘जिल्लाका केही साथीले आफ्नो सचिवालयको दुरुपयोग गरेको’प्रति उनले दुःख व्यक्त गरे ।

आफूले गल्ती भएकोभन्दासमेत केही सन्चारमाध्यम पछिलागेको भन्दै उनले राजनीति गर्ने अरु विषय पनि भएको भन्दै टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिने र गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।

उनले आर्थिक सुशासन र विकासमा रचनात्मक सहयोग गर्न सवैसँग आग्रह पनि गरे ।

You might also like