चुहान्डाडाको हवाई मैदान एवं आठराई क्षेत्रको विद्युत,पानी,सडक लगायत विविध विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सम्माननीय प्रधानमन्त्रीको अन्तक्र्रिया

चुहान्डाडाको हवाई मैदान एवं आठराई क्षेत्रको विद्युत,पानी,सडक लगायत विविध विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सम्माननीय प्रधानमन्त्री ज्यूसङ आठराईको प्रतिनिधि मण्डल।

काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न आउजाउ गर्ने थुप्रै नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तक हुन्छन् । बिहान सबेरैदेखि रातिसम्म दैनिक सयौं मानिसहरुसँग प्रधानमन्त्रीको भेटघाट र अन्तक्र्रिया हुन्छ । तर बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट भने बिल्कुल फरक रह्यो । सधैं राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका बिषयमा छलफल हुने यस ठाउँमा आज प्रधानमन्त्रीले आफ्नो जन्मस्थानको चर्चा र बाल्यकालका साथीसंगीलाई सम्झना गर्नुभयो ।
चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्नका लागि आठराई गाउँपालिकाबाट एउटा समूह प्रधानमन्त्री निवासमा आएको थियो । त्यहाँ अधिकांश उतै आठराई मै बसोबास गरेकाहरु र केही झापा र राजधानीमा बसोबास गरिरहेका तर आठराईलाई माया गर्नेहरु थिए । आठराईमा विमान स्थलका लागि पैसा माग्न आएको समुहका बारेमा

पूर्व जानकारी पाएका प्रधानमन्त्री ओली अनौपचारिक पोषाकमा नेकपाका महासचिब विष्णु पौडेल सहित बैठक कक्षमा प्रवेश गर्नुभयो । “के छ आठराईको खबर ?” प्रधानमन्त्रीको जिज्ञासा थियो । आगन्तुक सबैले आठराई विमानस्थलका लागि रकम छुट्याउन माग गरे । “नीति कार्यक्रममा आइसकेको छ । बजेटका लागि चिन्ता नगर्नु” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

त्यसपछि प्रधानमन्त्री ओलीले आफूसँग भएको कलेजी रंगको डायरी पल्टाएर आठराईको एउटा सडकको योजना सुनाउनुभयो । सुकेपोखरी–छातेढुंगा – प्रणामी मावि इवा –भदौरे –बिजौरे आधारभुत विद्यालय हुवाकु –निगुरादिन – चोपुर हुँदै हाङपाङ स्कूल – शान्ति आधारभूत विद्यालय मिचिरिङ हुदै दोभान–ठोट्ने हुँदै तेल्लाबुङसम्म सडकका लागि पनि यसपालि रकमको व्यवस्था हुन्छ ।
जन्मस्थान आठराई इवा छोडेको ५८ बर्षपछि पनि आठराईका चोकचोकमा नाम प्रधानमन्त्रीले फटाफट भनेको सुनेपछि आठराईबासीहरुले प्रधानमन्त्रीलाई अहिले पनि उही इवाकै छिमेकीकै रुपमा महसुष गरे ।
चुहानडाँडाँ विमानस्थलमा रकम माग गरिएको कागज लिएर प्रदेशसभा सांसद तेजमान कङ्दङ्वा प्रधानमन्त्री

नजिक गए । तेजमानको हात समाएर प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई चिनाउदै भन्नुभयो “उ मेरो गाउँले भाइ हो । अहिले प्रदेशसभाको सांसद ।” प्रधानमन्त्रीले फेरि सम्झनुभयो “अर्का तेजबहादुर कङदङ्वा पनि हुनुहुन्छ । वहाँ चाँही विर्तामोडमा हुनहुन्छ । तेजप्रसाद कङदङ्वाचाँही मेरै सामु हुनुहुन्छ ।”
प्रधानमन्त्री ओलीले बालसखा चन्द्र कन्दङवाको पनि सम्झना गर्नुभयो । “मेरो बाल्यकालको साथी चन्द्र । म भन्दा सिनियर पनि हुन् तर पनि हामी साथी साथी थियोैं । हामीले एकैदिन २०२६ साल फागुन १२ गते नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता लिएका । अर्का सूर्य कङदङवा त मेरा गुरु नै हुनुभो ।”

प्रधानमन्त्रीलाई आठराईबासीले भने “हामीलाई पानीको चाँही सारै समस्या छ”
यति भनिसक्दा प्रधानमन्त्रीले आफूले बाल्यकालमा पानी खाने गरेको इवा कै चुच्चेधारो सम्झनुभयो । “उ बेला चुच्चेधाराको पानी अजुंलीमा थापेर खान कम्ती मजा हुँदैन थियो,” प्रधानमन्त्रीले भन्नुभयो “अहिले सुकेर तिर्र….मात्र पानी आउँदो रहेछ । ५ बर्ष अघि आठराई गएको बेला चुच्चे धाराको रवाफ दिंदै श्रीमतीलाई पनि पानी खुवाउन

लिएर गएको त पानी सुकिसकेछ । त्यसपछि आँफै हिस्स परियो ।”
पानीको प्रसंगमा प्रधानमन्त्रीले संक्रान्तिको याकुम्बा गढी पनि स्मरण गर्नुभयो । “गढी के भएछ त । त्यहाँबाट आरोलो लागेपछि त थुप्रै पानीका मुल थिए पहिला त,” उनले भने ।
प्रधानमन्त्रीको यो जिज्ञासा सुनेपछि आठराईबासीले नेपालका गाउँबस्तीमा पानीका मुल सुक्नाका केही गम्भिर कारणहरु एकपछि अर्को गर्दै प्रधानमन्त्री समक्ष राखे । पूर्वप्रधानअध्यापक आरसी थपलियाले सुरु गर्नुभयो “जतासुकै मोटरबाटो खनियो । यसले पानीको मुललाई धक्का दियो । मुलहरु अन्तै सरे ।” भीष्म थपलियाले थप्नुभयो “भैंसी पाल्ने चलन हरायो । जसले गर्दा आहाल मासिए । आहाल नभएपछि पानी जम्मा हुन र रसाउन पाएन । पानीका मुल सुके ।” टिका उप्रेतीले थप्नुभयो “पहिला जस्तो साउने झरी पर्न छाड्यो । त्यतीबेला साउने झी हप्तादिनसम्म बिस्तारै बर्सीरहन्थ्यो । त्यसले जमिनको भित्री भागसम्म पानी जान्थ्यो । अहिले दर्र…पानी पर्छ जमिनको सहतमै बगेर सकिन्छ ।”
भीम घिमिरेले अर्को कारण थप्नुभयो “अहिले सानो मुलकतै भेटिए मानिसले सुविधाका लागि पाइप घुसाएर घर मै

पानी पु¥याउँछन् । जसले गर्दा पानीको प्राकृतिक बहाव मासियो । अनि हामी काकाकुल भयौं ।”
प्रधानमन्त्री ओलीले आठराईमा एउटा फूटबल मैदानको प्रस्ताव गर्नुभयो । “तपाईंहरुसँग छ भने जग्गा दिनुहोस । हैन भने म जग्गा दिन्छु ,” प्रधानमन्त्रीले सम्झनुभयो, “छन् त चुहानडाँडाँमा उप्रेतीटार,थपलीयाटार ।”
त्यसपछि प्रधानमन्त्री इवाको भित्रिया र खमारेको बगैंचामा पुग्नुभयो । भित्रिया र खमारेको बगैंचामा खाएका आँप र कटहरको चर्चा प्रधानमन्त्रीले गर्नुभयो । “हरेक बर्ष असार २२ गते कटर टिप्ने दिन हुन्थ्यो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मैले पनि धेरै पटक यहाँका आँप कटहर टिपेको छु । खाएको छु । अहिले छन् कि छैनन् भित्रिया र खमारेमा आँप कटहर ?”

You might also like