आरुबोटे हत्याकाण्ड: धामी गएपछि नरसंहार

धरान/ पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका धनराज शेर्मालाई सोमबार बेस्सरी टाउको दुखेपछि ओखतिमूलो गर्दा पनि ठीक भएन । कुलपितृ पो बिग्रियो कि भनेर झारफुकका लागि स्थानीय धामी हर्कमान कुरुम्भङलाई बोलाइएको थियो ।

७० वर्षको हाराहारीमा पुगेका धामी कुरुम्भङ ठाडो उकालो छिचोल्दै गाउँकै एक सहयोगी लिएर  शेर्माको घर आइपुगेका थिए । झारफुक गरेर उनी झण्डै रातको १० देखि ११ बजेको समयमा घरतर्फ लागे । हातमा घडी छैन । तर, समयको अनुमान लगाए । धामीको घर र शेर्माको घरबीचको दूरी आधाघण्टा रहेको मिक्लाजुङ–३ का अध्यक्ष हस्तराज फियाक बताउँछन् । झारफुकपछि शेर्मा परिवार मस्त निन्द्रामा थियो । त्यहीबेला उनीसहित परिवारका पाँचजनाको हत्या भयो । त्यही रात नकावधारीबाट उनीसहित ५ जनाको वंश नाश हुने गरी हत्या भएको छ ।

उनको मात्रै वंश नाश भएन । करिब एक किलोमिटर माथि ससुरा पूर्वप्रधानपञ्चसमेत रहेका बमप्रसाद फियाकसहित श्रीमती, छोरी र एकजना नातिनीको पनि हत्या भयो । एकजना भने भागेर ज्यान जोगाउन सफल भएकी छन् । भागेर ज्यान जोगाएकी सीता खजुम हाल दमकस्थित लाइफ लाइन अस्पतालमा कडा सुरक्षाका बीच उपचाररत छिन् । कतिपयले हत्याको समय ९ बजेपछि भन्ने दाबी गरिरहेका बेला धामी कुरुम्भङ १० र ११ बजेको बीचमा घर फर्किनुले घटना त्योभन्दा केही पछाडि मात्रै भएको पुष्टि हुन्छ । घटना ११ बजेपछि मात्रै भएको अनुमान लगाउन गाह्रो पर्दैन । हत्या भएको सुनेपछि धामी नै आश्चर्यमा परेको वडाध्यक्ष हस्तराज बताउँछन् ।

‘शेर्माको टाउको दुखेको रहेछ । फाकफुक गर्न धामीहरू आएका रहेछन् । उनीहरू १०–११ बजेमात्रै फर्कियौं भन्छन्’–वडाध्यक्ष हस्तराजले फोनसम्पर्कमा भने । उनका अनुसार देवीदेवताले बिगार गरेको हो कि भनेर धामीलाई बोलाएर फाकफुक गर्न लगाएको रहेछ । धामी आएको बेला घरमा घर परिवार मात्रै रहेको पनि धामी कुरुम्भङले जनाएको उनी बताउँछन् । ‘ठूलै चिन्ता (ढ्याङ्ग्रो तथा थाल ठटाएर गरिने पूजा) नभएर के–के (गाउँघरतिर झारफुकलाई गरिने सम्बोधन) गरेको रै’छ’–उनले भने । उनका अनुसार धामीको घर शेर्माको घरभन्दा आधाघण्टाको दूरीमा पर्छ ।

उनै शेर्माको घरमा वैशाख ३० गते उद्यमशीलता तालिममा सहभागीहरूलाई खाजा÷खाना खुवाउने कार्यक्रम गरिएको थियो । जहाँ तरकारीमा हालिएको नुनमा सिसाको कण भेटिएको थियो । त्यसबेला शेर्माले स्थानीय प्रहरी चौकीमा सिसाको कण हाल्ने मान्छेको बारेमा सामान्य जानकारी दिएका थिए । तर, प्रहरीले तत्कालै गतिलो कदम नचाल्दा गम्भीर अपराध हुन पुगेको स्थानीयबासी तथा जनप्रतिनिधिको आरोप छ । ६ दिनलगत्तै यो कहालीलाग्दो घटना हुन पुगेको छ । जहाँ ७५ वर्षीय बमप्रसाद फियाक, अन्दाजी ७५ वर्षीया पुर्चीमाया फियाक, २६ वर्षीया मनकुमारी फियाक (माखिम) र झापा दमक बस्ने बमप्रसादकी साइँली छोरीकी कान्छी छोरी १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या गरिएको थियो ।

त्यस्तै बमप्रसादका माइला ज्वाइँ ४१ वर्षीय धनराज शेर्मा, छोरी ३६ वर्षीया जस्मिता फियाक शेर्मा, नातिनी १३ वर्षीया योवना शेर्मा र ८ वर्षीया मुना शेर्माका साथै धनराजकी भतिजी ६ वर्षीया इक्सा शेर्माको हत्या गरिएको थियो । बाजेबोजूसँग बस्दै आएकी साइँली छोरीकी जेठी छोरी १४ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । घटनाका संदिग्ध मिक्लाजुङ–७ का मानबहादुर माखिमको भने आत्महत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

You might also like