फोहोरको समस्या विश्वभर, जर्मनी विश्वमै प्रभावकारी फोहोर व्यवस्थापन गर्ने देश

विश्वभरबाट वार्षिक दुई अर्ब टन फोहोर उत्पादन हुने गरेको छ जसले ओलम्पिकको आकारका ८ लाख स्वीमिङ पुल भर्न सक्छ । यसरी प्रति जनसङ्ख्याको हिसाब लगाउने हो भने यसका लागि सबैभन्दा बढी अमेरिका जिम्मेवार रहेको पाइएको छ ।
किनकि अमेरिकीहरुले विश्वव्यापी औसतको तीन गुणा बढी खाद्य र प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने गरेका छन् । त्यस्तै फोहोर उत्पादनसँगै अमेरिका रिसाइकल गर्नमा पनि अन्य विकसित देशभन्दा धेरै पछाडि रहेको पाइएको छ । अमेरिकामा केबल ३५ प्रतिशत ठोस फोहोर मात्र रिसाइकल हुने गरेको छ ।
जर्मनीलाई भने विश्वमै सबैभन्दा प्रभावकारी फोहोर व्यवस्थापन गर्ने देश मानिएको छ । त्यहाँका ६८ प्रतिशत वस्तुहरु रिसाइकल हुने गरेका छन् । भेरिस्क मेपलक्रफ्ट नामक रिसर्च फर्मले विश्वव्यापी खतराका विषयलाई केन्द्रित गरि अनुसन्धान गर्ने गरेको बीबीसीले जनाएको छ ।
यस्तोमा कम्पनीले फोहोर उत्पादन र रिसाइकलिङमा दुई नयाँ इन्डेक्स निर्माण गरेको हो । फोहोर उत्पादन सूचीले नगर क्षेत्रमा प्रतिव्यक्ति उत्पादित ठोस फोहोर, प्लास्टिक, खाद्यलगायत विषाक्त फोहोर उत्पादनको डाटा देखाउँछ जसमा उल्लेख ठोस फोहोर नगरको स्थानीय निकायले संकलित गर्ने फोहोर हो जुन घरेलु र व्यवसायिक दुवै हुन्छन् ।
यसरी प्रत्येक वर्ष विश्वभर २.१ अर्ब टन फोहोर उत्पादन हुन्छ र त्यस मध्येमा १६ प्रतिशत मात्र रिसाइकल हुने गरेको छ भने बाँकी ४६ प्रतिशत अनियमित ढङ्गमा व्यवस्थित गर्ने गरिएको छ । यसबारे गरिएको विश्लेषणमा विश्वका सबैभन्दा धेरै जनसङ्ख्या बस्ने दुईवटा देश चीन र भारतको मात्र विश्वव्यापी फोहोर उत्पादनमा २७ प्रतिशत योगदान रहने गरेको पाइएको छ ।
अमेरिकी नागरिकहरुले भने प्रतिव्यक्ति वार्षिक ७७३ किलो फोहोर उत्पादन गर्ने गरेका छन् जुन कूल फोहोरको १२ प्रतिशत हुन्छ । यो नतिजा चीनको भन्दा तीन गुणा बढी र इथियोपियाका बासिन्दाभन्दा सात गुणा धेरै रहेको छ । अन्य युरोपेली मुलुक जस्तै नेदरल्यान्ड, स्वीट्जरल्यान्ड, फ्रान्स र जर्मनी पनि सूचीमा पर्छन् ।
बेलायतले पनि प्रतिव्यक्ति वार्षिक ४८२ किलो फोहोर उत्पादन गर्ने गरेको छ र यसमा १४ औँ स्थानमा पर्दछ । यसरी विकसित देशहरुमा अमेरिका मात्र त्यस्तो राष्ट्र हो जहाँको फोहोर उत्पादन दर र रिसाइकल गर्ने क्षमता भन्दा बढी छ ।
संरचनाले नै फोहोर रिसाइकल गर्ने विकल्प प्रदान नगरेको वातावरणीय रिसर्चका प्रमुख वील निकोलस बताउँछन् । उनले भनेका छन्, “यसअघि चीन पठाइने गरिएको अत्याधिक फोहोर चीनले लिन बन्द गरेपछि जलाइने गरिएको छ ।” यसरी चीन, थाइल्यान्ड, भियतनाम र मलेशियाले फोहोर आयातमा प्रतिबन्ध लगाएदेखि नै विश्वव्यापी फोहोर व्यवस्थापन चुनौतिमय बनेको पाइएको छ ।

You might also like