देशभर जग्गाको न्यूनतम मूल्यांकन परिवर्तन, अग्रिम कर उठाउन निर्देशन

सरकारले साउन १ देखि लागू हुनेगरी देशभर जग्गाको न्यूनतम मूल्यांकन परिवर्तन गरेको छ । नयाँ मूल्यांकन अनुसार उपत्यकामा जग्गाको मूल्य ५ देखि २० प्रतिशतसम्म बढेको छ । देशभरका १३१ मालपोत कार्यालयमध्ये केहीले आफ्नो कार्यक्षेत्र अन्तर्गतका जग्गाको मूल्यांकन यथावत् राखेको र बाँकीले बढाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको छ ।

काठमाडौंका कलंकी, चाबहिल, टोखा, डिल्लीबजार, मनमैजु र साँखु मालपोत कार्यालयले जग्गाको परिवर्तित न्यूनतम मूल्यांकन सार्वजनिक गरिसकेका छन् । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा गत असार २७ मा भएको बैठकबाट काठमाडौंका जग्गाको न्यूनतम मूल्यांकन परिवर्तन गरिएको हो । ललितपुर र भक्तपुरका मालपोत कार्यालयले पनि जग्गाको न्यूनतम मूल्यांकन तय गरिसकेको र अधिकांश स्थानको मूल्यांकन वृद्धि भएको विभागले जानकारी दिएको छ ।

सरकारी मूल्यांकन निकै कम र वास्तविक कारोबारको रकम ज्यादै धेरै भएको अवस्थामा जग्गाको मूल्यांकन बढ्नु सकारात्मक रहेको सीई कन्स्ट्रक्शनका कर्पोरेट हेड सुजन घिमिरेले बताए । ‘सरकारी मूल्यांकन अभैm वैज्ञानिक भइसकेको छैन । यद्यपि, मूल्यांकन बढ्दा बैंक ऋण लिन सहज हुन्छ,’ उनले भने ।

जग्गाको सरकारी मूल्यांकन बढ्दा शहरीभन्दा पनि कम विकसित क्षेत्रमा बढी प्रभाव पर्ने उनको तर्क छ । ‘यदि सीतापाइला क्षेत्रमा प्रतिआना जग्गा कारोबार ३० लाखमा भइरहेको छ र त्यसको सरकारी मूल्यांकन ५ लाख छ भने १ लाख रुपैयाँ बढ्दैमा वास्तविक कारोबारमा त्यति फरक नआउन सक्छ,’ घिमिरेले भने, ‘तर, अलि बाहिरका रामकोटजस्ता ठाउँमा जग्गाको कारोबार प्रतिआना ५ लाखमा भइरहेको छ र सरकारी मूल्यांकन २ लाखबाट ३ लाख रुपैयाँ पुग्यो भने जग्गाको भाउ पनि बढ्न सक्छ ।’

भूमि व्यवस्थापन विभागका निर्देशक भरत गौतमले सडक विस्तार, खानेपानी, बत्तीको व्यवस्था, विभिन्न आयोजनाको निर्माण, शहरीकरण लगायत कारणले देशभर जग्गाको मूल्यांकन बढ्ने गरेको बताए । घरजग्गा कारोबारमा संघीय सरकारले पूँजीगत लाभकर लिने गरेकामा जग्गाको मूल्यांकन वृद्धि हुँदा राजस्व रकम पनि बढ्ने उनले जानकारी दिए । सरकारले १० लाखभन्दा बढीको थैली कायम गरी घरजग्गाको कारोबार हुँदा महानगर र उपमहानगर क्षेत्रमा १० र नगरपालिका क्षेत्रमा ५ प्रतिशत पूँजीगत लाभकर संकलन गर्दै आएको छ ।

अग्रिम कर उठाउन निर्देशन
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा व्यवसायमा आबद्ध व्यक्ति तथा कम्पनीबाट जग्गा वा भवनको विक्री मूल्यमा थैली अंकको १ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर अग्रिम रूपमा उठाउन निर्देशन दिएको छ । प्राकृतिक व्यक्तिबाहेक अन्यको घरजग्गा कारोबारमा आयकर ऐनको दफा ९५ क (६) अनुसार लाभकर असुल्न विभागले बुधवार मालपोत कार्यालयहरूलाई निर्देशन दिएको हो । घरजग्गा कारोबारको लाभ रकममा घरजग्गा व्यवसायीले पहिलेकै अनुसार पूँजीगत लाभकर समेत तिर्नुपर्ने विभागका निर्देशक भरत गौतमले जानकारी दिए । निजी प्रयोजनको घरजग्गा कारोबारमा लाभकर सम्बन्धमा भने कुनै परिवर्तन नभएको उनले बताए ।

You might also like