कफी व्यवसायको भविष्य अनिश्चित

एजेन्सी । पछिल्लो समय कफीको लोकप्रियता विश्वव्यापी रुपमा बढ्दै गएको पाइएको छ । विशेषगरी कफी प्रेमीहरुका लागि त यसको सेवन दैनिकीको एक महत्वपूर्ण हिस्सा नै बनेको छ भने स्वाद अनुसार विभिन्न प्रकारका कफी तयार पार्न आधुनिक उपकरणहरुको आविष्कार पनि बढ्दो छ । यसरी कफी उद्योगले विश्वमा धेरै ठूलो रुप लिइरहेको छ । तर आगामी पीढिले भने हामीले जसरी सजिलै कफिको मज्जा लिन नपाउने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वास्तवमा लन्डनको क्युस्थित रोयल बोटनिक गार्डेनका वनस्पति विद्हरुले १२४ प्रजातिका कफीहरुबारे बुधबार गरेको एउटा सर्वेक्षणमा ६० प्रतिशत कफीका विरुवा लोप हुने अवस्थामा रहेको पत्ता लागेको छ जसले कफी व्यवसायको भविष्य अनिश्चित पारिदिएको बताइएको छ । यसरी विश्वको सबैभन्दा पहिलो प्राकृतिक र पहिलो कफी मानिने अरेबिका र रोबस्टा का प्रजाति समेत खतरामा रहेको बताइएको छ । अरेबिका कफीले विश्वको करिब ६० प्रतिशत उत्पादनको प्रतिनिधित्व गर्दछ ।

यसरी नाम चलेका उच्च ग्ुणस्तरका अधिकांश कफी मदागस्कर र अफ्रिकाका जङ्गलमा पाइन्छन् । तर जलवायु परिवर्तन र बढ्दो जङ्गल फडानीका कारण जङ्गली कफीका विरुवाले आफ्नो प्राकृतिक घर गुमाइरहेका छन् । यसरी जङ्गली कफी मात्र नभएर खेती गरिएका कफीका प्रजाति समेत जलवायु परिवर्तनको परिणाम स्वरुप अस्वस्थ बन्दै जाने वैज्ञानिकहरुको भनाइ छ ।

यसमा पनि अफ्रिका र विशेषगरी इथियोपियालाई सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएको छ । अरेबिका प्रजातिको जन्मघर र अफ्रिकाको सबैभन्दा ठूलो कफी निर्यातकर्ता पनि इथियोपिया नै हो । इथियोपियाबाट वार्षिक १ अर्ब डलर बराबरको कफी बाहिरिने गरेको छ भने त्यहाँका १ करोड ५० लाख जनता यसैको व्यवसायमा निर्भर छन् । तर अनुचित मानविय क्रियाकलपका कारण इथोपियामा अरेबिका फल्ने जमिन २०८० सम्ममा ८५ प्रतिशतले घटेर जाने बताइएको छ । त्यसैगरी शताब्दीको अन्त्यसम्ममा त्यहाँको जमिन कफी उत्पादनका लागि अयोग्य हुने समेत वैज्ञानिकहरुले चेतावनी दिएका हुन् ।

यसरी जलवायु परिर्वतन र जङ्गल फडानीले विश्वका आधा भन्दा बढी कफीका प्रजातिलाई लोप हुने अवस्थामा पुर्याएको बुधबार सार्वजानिक रिपोर्टमा उल्लेख गरिएको हो । त्यसकारण कफी व्यवसायको संरक्षणका निम्ति हाल गरिएका प्रयासहरु पर्याप्त नभएको निष्कर्ष निस्किएको हुँदा तत्कालै उचित प्रावधान मिलाउनु पर्ने क्युका प्रमुख अनुसन्धानकर्ता एरोन डेभिसले अपील गरेका छन् । उनका अनुसार लोपोन्मुख प्रजातिहरुमा केही विरुवा भविष्यमा उब्जाउन सकिने किसमका रोग प्रतिरोधक कफी पनि रहेका छन् । उनले भनेका छन्, “पृथ्वीको तापक्रम बढेसँगै वर्षाको मात्रा कम हुँदै जान्छ जसकारण कफी उत्पादन गर्ने उपयुक्त क्षेत्रहरु नष्ट हुँदै जानेछन् ।”

यस्तोमा यो खोज कफीप्रेमीहरुका लागि मात्र नभएर कफी उद्योगमै निर्भर राष्ट्रका निम्ति पनि ज्यादै महत्वपूर्ण विषय रहेको उनको भनाइ छ । हाल विश्वभर १० करोड मानिस कफी व्यवसायमा आबद्ध छन् । त्यसैले अनुसन्धानकर्ताहरुले विशेषगरी इथियोपिया लगायत अफ्रिकी मुलुकको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । द गार्जियनबाट

You might also like