विप्लवको नाता भन्दै चन्दलाई प्रेस पास दिन अस्वीकार

काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवको पारिवारिक सदस्य भएको भन्दै सूचना तथा प्रसारण विभागले पत्रकार दिया चन्दलाई प्रेस पास दिन अस्वीकार गरेको छ।

आम सञ्चारगृहका पत्रकारले विभागबाट पाउने पत्रकार परिचयपत्र लिन सोमबारदेखि बुधबारसम्म विभागमा धाएकी पत्रकार चन्दलाई प्रेस पास दिन विभागले अस्वीकार गरेको हो।

पत्रकार परिचयपत्रका लागि आवश्यक कागजात पुर्‍याएर विभाग पुगेकी चन्दले सबै प्रकृया पूरा गरेर रसिदसमेत काटिसकेको अवस्थामा महानिर्देशक कृष्णमुरारी न्यौपानेको निर्देशनमा सूचना अधिकारी सुमन बज्राचार्यले प्रेसपास दिन अस्वीकार गरेको चन्दले थाहाखबरलाई बताइन्।

चन्दले अघिल्ला वर्षहरुमा सूचना विभागको प्रेस पास लिएकी थिइन्। इमान्दार मिडिया प्रालिद्वारा सञ्चालित संचारकेन्द्र डटकमको कार्यकारी सम्पादक चन्द आफ्नो मिडिया हाउसका ७ जना प्रेस प्रतिनिधिसहित विभाग पुगेकी थिइन्।

विभागले चन्दबाहेक उक्त मिडियामा काम गर्ने अन्य सबै पत्रकारहरुलाई प्रेसपास दिइसकेको छ। सूचना विभागका महानिर्देशक न्यौपानेले पत्रकार चन्दको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे मुद्दा परेपछि छानबिन गर्नुपर्ने भएकाले प्रेस पास दिन नसकिएको बताए।

उनका अनुसार शैक्षिक योग्यताका प्रमाणपत्र नक्कलीबारे छिट्टै छानबिन गरि निर्णयमा पुगिने छ। पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले यसबारे छानबिन गरि छिटो टुंगोमा पुर्‍याउनेबारे महानिर्देशक न्यौपानेसँग छलफल भएको जानकारी दिए।

You might also like