कास्कीमा २१ जनामा डेंगुको संक्रमण,

पोखरा। कास्कीमा २१ जनामा डेंगुको संक्रमण भेटिएको छ । यो रोग भेटिनेमा सबैभन्दा बढी पोखरा महानगरपालिकाका छन्् । प्रदेशका स्वास्थ्य निर्देशक डा. खिमबहादुर खड्काका अनुसार गत वर्षझैं यस वर्ष पनि पोखरामा डेंगु रोग भेटिएको हो । उनका अनुसार हालसम्म २१ जनामा यो रोगको संक्रमण भएको र उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । डेङ्गुको संक्रमण बढेपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले यसको नियन्त्रणका लागि पहल थाल्ने जनाएको छ ।
पोखरा–८ मा सबैभन्दा बढी ८ जना संक्रमित छन् । वडा ९ का ५ जना छन् भने वडा ४, १०, १७ र २५ मा एक–एक जना नागरिकमा सो रोग देखिएको छ । त्यसैगरी, तनहुँमा १, स्याङ्जामा १ र पोखरामा बसोबास गर्ने धरानका २ जना नागरिकमा यो रोग देखापरेको छ । पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडा कार्यालयले नै विभिन्न टोल विकास संस्था, आमा समूह, क्लबलगायतका प्रतिनिधिलाई बोलाएर यसबारे सचेतना कार्यक्रम गरेकोे बताए ।

उनका अनुसार वडाले रोग लाग्नबाट बँच्न अपनाउनुपर्ने सावधानी लगायतबारे माइकिङ गर्नुका साथै वडावासीलाई पर्चा–पम्प्लेट वितरण गरेको छ । यस्तै, ठाउँठाउँमा सचेतनामूलक ब्यानर राखिएको छ ।
पोखराको शिवालयचोकमा भएको सचेतनामूलक कार्यक्रममा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रकी डा. मधुमाया तिमिल्सिनाले डेंगु रोग, यसको मुख्य लक्षण, उपचार, बँच्ने उपायबारे जानकारी दिएकी थिइन् ।
चिकित्सकका अनुसार डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन बरु लामखुट्टेले सफा पानी जमेका स–साना स्थानमा फुल पार्ने गर्दछ । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टीतेलका ड्रम, फूलदानी, गमला, कुलर, पानीका ट्यांकीलगायतमा यसले फुल पार्छ । वर्षाको महिनासँगै जताजतै पानी जम्ने भएकाले यो रोगको प्रकोप बढ्ने गरेको पाइन्छ ।

यसका मुख्य लक्षणमा आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कटकटी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, जोर्नी, हड्डी तथा मांशपेसी दुख्ने, उच्च ज्वरोसँगै ती लक्षण देखा परेमा यो रोग लागेको आशंका गरिन्छ । साथै वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिंजाबाट रगत बग्ने, शरीरमा रगत रहेको चक्का (नीलडाम) देखा पर्ने, बेहोस हुनेजस्ता लक्षण देखा पर्न सक्ने जनाइएको छ ।

You might also like