क्षतिग्रस्त संरचनाहरुको मर्मत, सम्हार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, सम्हार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको हो ।

वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले क्षतिग्रस्त बनाएको सडक र पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्न समिति सभापति कल्याणी खड्काले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएकी हुन् ।

यसवर्ष असार २६ गतेबाट लगातार ३ दिनसम्म परेको वर्षाका कारण देशका सबै प्रदेशका सडक, पुललगायग संरचनामा क्षति पुगे पनि हालसम्म मर्मत, सम्भार नहँुदा सर्वसाधारणको दैनिकी प्रभावित बनेकोप्रति बैठक सदस्यहरुले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराए ।

यस्तै बैठकले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य कसले बनाउने भन्ने अन्यौलका कारण मर्मत, सम्भारमा ढिलाइ भएको सांसदहरुले बताए ।

यस्तो अन्योलको अन्त्य गरेर यथाशिघ्र ती सडकहरुको पनि निर्माण कार्यलाई तीव्रता दिन पनि समिति सदस्य सांसदहरुले सरकारलाई सचेत गराएका छन् ।
सभापति खड्काले दसैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षात्ले क्षति पु¥याएका सडक तथा पुलहरु पूर्ण रुपमा सञ्चालनमा ल्याई नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउनसमेत सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

समितिले विनाअध्ययन जभाभावी सडक निर्माण कार्य सुरु गरेको पाइएको पाइएको भन्दै निर्माण कार्यमा लापरबाशी नगर्न समितिले मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
वातावरणलाई जथाभावी हानी नपुर्याइ राज्यको स्रोत, साधनको दुरुपयोग हुन नदिन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा समितिका सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकारको हानाथापका कारण वर्षाले क्षति पु¥याएका सडक तथा पुल निर्माणको काम अघि बढन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

समिति सदस्य प्रभु साहले तीन वटै तहको हानाथापका कारण क्षतिग्रस्त पुल तथा सडकको जीर्णोदार तथा पुनर्निर्माण कार्य अघि बढन नसकेको भन्दै आक्रोस व्यक्त गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पुर्याएका सबै सडक तथा पुलहरुको मर्मत, सम्हार र पुनर्निर्माणको कामको जिम्मेवारी सरकारले लिने प्रतिक्रिया दिए ।

“प्रदेश र स्थानीय तहको कार्य क्षेत्रमा परेका सडक तथा पुलहरुको निर्माणका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको र त्यस्ता सडक तथा पुलहरुको निर्माण कार्यले छिट्टै गति लिनेछन्,” मन्त्री महासेठले बैठकमा जानकारी गराए ।

बैठकमा मन्त्री महासेठले सडक डिभिजन अन्तरगत वर्षात्का कारण ४५ वटा पुलमा क्षति भएको र त्यसको मर्मत, सम्हार र निर्माणका लागि करिव ४७ करोड ३४ लाख बजेट लाग्ने बताए ।

You might also like