कविता “भोक संगको अर्को युद्ध “

भिजन गुरागाईं

एका बिहानै
खकन ढाकर तोक्मा संगै
एक पोको सामल तुमल लिएर
निस्किन्छ राजकुमार
भोक संगको युद्ध लड्न
युद्ध मैदानमा।
गाउँ भरिका
एक हुल सिपाही हरुका साथमा।

जेठा महाजनले बनाएको कपाली तमसुकमा हजुरबुबाले लगाएको औंठा छाप हजुरआमाको पसिनाले भिजेर मेटियो तर हजुरआमाको थाप्लोमा कहिल्यै मेटिएन नाम्लोको छाप।
निर्मम काटिए शान्ती लेख्ने
दाजुका कलिला औंलाहरु
इन्द्रेणी रंग भर्ने दिदिका हात हरु
कहाँ हराए अमन चयन हरु
गाउँमा देखिदैनन् आस्था र अस्मिता हरु

त्रासै त्रास बोकेर
बिहानिको कलिला घामका किरण संगै
जुरुक्क उठेर नानी हरु
रट्न थाल्छन् जिन्दगीको पाठ
सधैं झैं
नानी हरु यन्त्र जस्तै छन्
साख्फारा माथीका अक्करे भिरमा
अभ्यस्त छन् पाइला चाल्न।
डोको नाम्लो र हसिया
क्षेप्यास्त्र भन्दा शक्तिसाली छन्
दुर्बिज बाजेले बुनेका डोकाको प्वाल
दुर्बिन जस्तै छन्।
नानी हरुले संन्सार नियाली दिन्छन्।

सातपत्रेको जंगलमा
आमाका खाली खुट्टाका
सात पत्र गए होलान्।
समस्याले घेरेर
बा का मनमा पनि सात पत्र
बेरिए होलान्
देश सम्झेर।

भोक संगको युद्ध जित्नु छ।
हरेस खाएर कहिल्यै फर्किएनन्
घरको समस्या बिर्सेर
आसाको दियो बालेर
कहिले थाप्लोमाथी देश बोकेर फर्किए
कहिले समस्याको पोको बोकेर फर्किए।

तीन जुरे र मिल्केका गुराँसले
मेरी आमालाई चिन्छ्न्
म त्यही बाटो भएर हिड्दा
गफ गर्छु गुराँसहरु संग चिमालो संग।
मलाई देख्दा यति धेरै खुसी हुन्छन्।
मुस्कुराइ दिन्छन्
रंगिन बनाइदिन्छ्न् पुरै धर्ती।

म संम्झिन्छु एउटा ईतिहास
एउटा पुरानो अतीत
हजुरआमाले सुनाएको
दन्ते कथा झै लाग्ने
तर वास्तविक जीवन जिवन कथा।
भोक संगको युद्धको भुङ्रोमा
बिरोलिएका छौं हामी

बा आउने बाटो कुरेर
बसिरहन्छे सानी बहिनी
मजेरीको डडिलमा।
मिल्के डाडा माथी नजर राखेर
बा ले बगली बाट सु्टुक्क झिकेर
दिने सुन्तले चक्लेटको आस गरेर।
ढाकर भरी सामान लिएर बा आउदा
कत्ती फुरुङग हुँदै भित्र बाहिर गर्छे दिलकुमारी।
बा ले ल्याइदिएको चक्लेटको खोलमा
उस्तै आकारको ढुङ्गा हालेर दुरुस्तै चक्लेट बनाउछे।
अत्यावश्यक सामान
कति जतनले चलाउने गर्नु हुन्छ आमा।
थाहा छ फेरि पनि भोकले
हामी लाई आक्रमण गर्ने छ।

म सोच्ने गर्छु अबको यो युद्ध हामिले जित्नेछौ हामी संग खानेकुरा छ।
अबको युद्धमा भोकहरुको पराजय हुनेछ।
अर्को नयाँ संसार बन्ने छ।
भोक हरु संग कहिल्यै हाम्रो युद्ध हुने छैन।
बा ले जस्तै ढाकर तक्मा खाजा सामल बोकेर भोकको युद्धमैदानमा
मैले युद्ध लड्न जानू पर्दैन।
बा अब पर्दैन भोक संगको अर्को युद्ध गर्नु।
तिम्रो थाप्लो भरी कहिल्यै नमेटिने गरि
लेखिएको छ भोक हरु सग गरेको
युद्धको इतिहास
आमाका पैताला हरुको
छाप छ सातपत्रेका ढुङा हरुमा
त्यही इतिहास जोगाउनकै लागि
म अब गर्न दिने छैन अर्को युद्ध।

के हुदैन माटो पाए अनाजको बिज भए
आफ्नो खुसी गर्छ माली सब थको बनाउँछ
गरेर पौरख धर्तिमा फलाउँ अनाज अमृत
जो गर्छ श्रम संघर्ष उ जित्छ युद्ध बिजय।

बा ले भोक संगको युद्धको इतिहास लेखेका छन्
मेरी आमाले भोक संगको युद्ध जितेकी छिन्।

You might also like