दुई बसमा लुटपाट

स्थानीय युवाहरुले आइतबार राति डोटीमा दुई बसमा लुटपाट गरेका छन् । लुटपाटका क्रममा तीन जना घाइते भएका छन् । अछामबाट कैलालीको टीकापुरतर्फ गइरहेका ना ४ ख ७२६९ र ना ५ख ७१२१ नम्बरको बसबाट डोटीको शिखर नगरपालिका ६ तल्कोटमा नगद ९० हजार लुटिएको पीडित तेजबहादुर मल्लले बताए ।

उनको कान, टाउको र छातीमा चोट छ। सुरुमा मल्लकै गाडीमा उनीहरुले आक्रमण गरेका थिए।

गाडी रोक्न लागेपछि अघि बढ्न खोज्दा पछाडिबाट ढुंगाले प्रहार गरेको मल्लले बताए। ‘पछि के भयो भनेर म गाडी रोकेर बाहिर निस्किएँ’, उनले भने, ‘गाडी रोक् भनेको सुन्दैनस् भनेर कानमा मुक्का हाने। र लगातार सबैले भकुरे। पैसा लगेपछि छाडे।’

त्यसको करिब १० मिनेटपछि अछामबाटै मोहन मल्लको ना ५ख ७१२१ नम्बर बस पनि उनीहरुले रोके। ढुंगामुढा प्रहार गर्दै राति साढे ८ बजे बाटो छेकेर लुटेको घाइते यात्रु अर्जुन कुँवरले बताए। ‘एक्कासि १०/१२ जनाको समूह गाडी रोक्न आयो, चालक र सवारी धनीलाई सुरुमै नियन्त्रण लिएर हातपात गरे,’ घाइते अर्जुनले भने, ‘झ्यालबाट बाहिर हेर्ने यात्रुलाई पनि ढुंगाले आक्रमण गरे। त्यही क्रममा मलाई पनि चोट लाग्यो।’

सवारीधनीको कपडा च्यातेर लुटेराहरु नगद पैसा लुटेर भागेको उनले बताए।

You might also like