मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती , देशभित्रै र भारतमा बालबालिका ओसारपसार

काठमाडौं । पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो । यस्ता गतिविधिमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरूले बताएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, ग्रिन कार्ड, पीआरको प्रलोभनमा परेर राम्रो जीवनशैली र आर्थिक उर्पाजनको बाटो खोजिरहेका शिक्षित वर्गका युवायुवती नै तस्करीको निसानामा पर्ने गरेका छन् । ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार यस्ता गतिविधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट संगठित अपराधीहरूको संलग्नता रहने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालसमेत मुख्य चुनौती बनेको उनको भनाइ छ । ‘हामीले ब्युरो गठन गरेको चार महिनाको अवधिमा भारत, लिबिया, इराक, ग्रिस, केन्या, इन्डोनेसियालगाायतका देशबाट २६० जनाको उद्धार गरिसकेका छौं ।’ संगठित गिरोहले विभिन्न प्रलोभन तथा बहनामा उनीहरूलाई विभिन्न देशमा पु¥याएको एसपी थपलियाले बताए ।

ब्युरोले केही समयअघि मात्र विवाह गरेर नेपाली युवती तस्करी गर्ने चिनियाँ गिरोहको धन्दा पर्दाफास गरेको थियो ।
परम्परागत रूपमा कमाराकमारी, बधुवा मजदुरका रूपमा श्रम शोषण तथा दासका रूपमा यस्ता गतिविधि हुने भए पनि पछिल्लो समय आधुनिक दासताका रूपमा मानव बेचबिखन तथा ओसारपसार बढेको सरोकारवालाहरूको भनाइ छ । उनीहरूका अनुसार पछिल्लो समय तस्करहरूले वैदेशिक रोजगारी, शिक्षा, विवाह, स्वास्थ्य तथा मनोरञ्जनलगायतका गतिविधिमार्फत मानव तस्करीका धन्दा सञ्चालन गर्ने गरेका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार विगतमा भारतका कोठीमा लगेर चेलिबेटीे बेचबिखन गर्ने कामलाई मात्रै मानव बेचबिखनका रूपमा लिइने गरिन्थ्यो ।

–राष्ट्रिय अन्तर्राष्ट्रिय गिरोहको नेपालमा सक्रियता
–नियन्त्रणमा चुनौती थप्दै सामाजिक सञ्जाल
–नयाँ–नयाँ रुट, उद्देश्य र उपाय अपनाउँदै मानव तस्कर
–आर्थिक लाभ बालगृहको बहाना

मन्त्रालयको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाकी अधिकृत कोपिला राईका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा १ हजार १९७ जनाको विभिन्न देशबाट उद्धार गरिएको थियो । पछिल्लो वर्षमा उद्धार गरिएकाको संख्या झनै बढेको अधिकृत राईले बताइन् । मानव बेचबिखन तथा ओसारपसारमा चुनौती थपिएसँगै नेपाल प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्युरो गठन गरेर नियन्त्रणका विभिन्न रणनीति बनाउँदै आएको छ ।

देशभित्रै र भारतमा बालबालिका ओसारपसार

यसअघि धर्मपुत्र तथा धर्मपुत्रीका नाममा बालबालिका ओसारपसार हुने गरेको थियो । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार सरकारले यस कार्यमा रोक लगाएसँगै नेपालकै एक स्थानबाट अन्य स्थानमा बालबालिकाहरू ओसारपसार गर्ने क्रम बढेको छ । परिषद्का अनुसार नेपालका साथै भारतमा जाने बालबालिकाको सम्बन्धमा कुनै जानकारी हँुदैन ।
‘अभिभावकसँगै गएका हुन्छन् । फर्किए वा फर्केनन् यसको जानकारी पाउन सकिँदैन,’ परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले भने । आर्थिक अभावमा रहेका अभिभावकलाई छोराछोरी पालनपोषण र तथा शिक्षादीक्षा दिने नाममा बालगृहमा राख्ने, गुम्बामा पढाउने नाममा तथा भारतमा ओसारपसार हुने गरेको उनको भनाइ छ ।
बालगृहले समेत दाताबाट आर्थिक लाभ लिने नाममा बालबालिकाको जीवन जोखिममा पारेको पाइएको उनको अनुभव छ । ‘हामीले गत वर्ष ऐश्वर्य बालगृहबाट एकैपटक १२० बालबालिका उद्धार ग¥यौं । यसका साथै ३ सय बालबालिका हामीले उद्धार ग¥यौं । यस वर्ष पनि उद्धार गर्दै अभिभावक भएका बालबालिकालाई यस्ता बालगृहमा नराख्न सचेत गराइरहेका छौं,’ उनले भने ।

बेचबिखन र ओसारपसारका उद्देश्य

– यौन शोषण तथा दुव्र्यवहार
– मानव अंग बेचबिखन (कलेजो, मृगौला, छालालगायत)
– वैदेशिक रोजगारीका नाममा
– फर्जी विवाह
– सेरोगेसी (कोख भाडामा लगाउने)
– नेटवर्किङ व्यावसायका नाममा
– लागूऔषध तथा हतियार ओसारपसार गराउन
– डान्सबार÷रेस्टुरेन्ट÷सर्कसमा काम लगाउने÷माग्न लगाउने
– शैक्षिक प्रलोभन÷खेलकुद÷गीतसंगीतका नाममा मानव तस्करी

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणबारे कानुन

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि हाल ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ प्रचलनमा रहेको छ । यस ऐनले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई एक ठाँउबाट अर्को स्थानमा लैजाने, वेश्यावृत्ति वा शोषण गर्ने उद्देश्यले ललाइफकाई तथा प्रलोभनमा पार्ने, झुक्याई, जालसाज गरी प्रपञ्च मिलाउने, जबर्जस्ती तथा करकापमा पारेर शरीर बन्धक बनाउने, नाजुक स्थितिको फाइदा लिई, बेहास पारी डर–त्रास र धाक–धम्की दिई नियन्त्रणमा लिनेलाई मानव बेचबिखन तथा ओसारपसार मानिन्छ ।

You might also like