परिवर्तनकारी शक्ति र नेतामाथि निरन्तर बदनाम गराउने काम भइरहेको छ: प्रचण्ड

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शासन व्यवस्थाप्रति प्रतिक्रान्तिको गन्ध आइरहेको बताएका छन्। परिवर्तनकारी शक्ति र तिनका नेतृत्वलाई बदनाम गर्न अनर्गल प्रचार भइरहेको पनि अध्यक्ष प्रचण्डले बताए।

२१औँ सुरेश वाग्ले स्मृति दिवसमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने र जनताको अपेक्षा अनुसार परिणाम दिनेगरी काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

‘चिहानबाट भूतप्रेतलाई ल्याउँदैमा ब्यूतिने भन्ने कुरा त विज्ञानले मान्दैन। तर, पनि तिनका केही प्रेतात्माहरु बेलाबेलामा आउने र जीवित मान्छेलाई कुनै न कुनै रुपमा दुःख दिने गर्दा रहेछन् ।

हामी यस्तो बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, जनतालाई राम्रोसँग परिणाम दिने र जनतालाई राम्रोसँग परिचालन गरी सम्बन्ध सुदृढ गर्न आवश्यक छ’, प्रचण्डले थपे ‘कहिलेकाहीँ सिंहका अघि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन। सिंह सिंह नै हो। स्याल स्याल नै हो। यो कुरा सबैले आत्मसात गर्न र जनतालाई उदेश्यका निम्ति सामेल हुने वातावरण बनाउन आवश्यक छ।’

परिवर्तनकारी शक्ति र नेतामाथि निरन्तर बदनाम गराउने काम भइरहेको पनि प्रचण्डले बताए। उनले भने ‘एकथरि मानिसहरु आजभोलि क्रान्तिकारी बिद्रोह र आन्दोलनका नेताहरुलाई बदनाम गर्न धेरै तल्लो स्तरमा उत्रेर अनर्गल प्रचारको सिलसिला थालेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने उदेश्यका साथ आएका छन्। आन्दोलनलाई बदनाम गर्ने र हिजोका सामन्त र अत्याचारीलाई फेरि कहीँ न कहीँ कनै न कुनै रुपमा स्थापित गर्ने षड्यन्त्रका झिल्का देखिन लागेका छन्।

प्रचण्डले कम्युनिस्ट पार्टीमा वैचारिक विचलन भइरहेको बताए। आदर्शबाट कम्युनिस्ट शक्ति विचलन भइरहेको पनि टिप्पणी गरे। उनले भने ‘हामीले अत्यधिक मत पाएर सरकारको नेतृत्व पुगेका छौँ तर वैचारिक निष्ठा, वैचारिक स्पष्टता, राजनीतिक परिपक्वता र नैतिक चरित्र र आचरणका दृष्टिकोणले हेर्दा हामी धेरै नै खस्किएका छौँ भन्ने महसुस हुने गरेको छ। हामी बढी नै आत्मकेन्द्रित भएका छौँ। आदर्शबाट विचलन भएका छौँ।’

एकता प्रक्रिया ढिला भएको र पार्टीले राम्रा काम गरोस् भन्ने चिन्तालाई नेतृत्वले सुनिरहेको उनले बताए। उनले जनताको आशा अनुसार काम भएनन् भन्ने कुरामा नेतृत्वको ध्यान गएको बताए।

You might also like