लिपुलेक प्रकरणमा भएको गल्ती चीनीया पक्षबाट सच्याउन ग्रेटर नेपालको माग

चिनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणसंगै लिपुलेकको बिषयलाई लिएर ग्रेटर नेपालले प्रेस विज्ञप्ति निकालेको छ ।
मित्र राष्ट्र चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको दोस्रो दिन आज नेपाल र चीनका विदेश मन्त्रीबिच द्विपक्षीय हितका विषयमा औपचारिक वार्ता हुने कुरा प्रकाशमा आएपछि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ,विज्ञप्तिमा भनिएको छ ।

यस अवसरमा मोर्चा दुवै देशका विदेशमन्त्रीहरूको ध्यान सन् २०१५ को मे १५ को दिन बेजिङमा चीन र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तितर्फ आकृष्ट गर्न चाहन्छ, जसमा नेपालको लिपुलेकलाई चीन र भारतबिचको अन्तर्राष्ट्रिय व्यापार नाका बनाउने उल्लेख गरी नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि अतिक्रमण र हस्तक्षेप गरिएको थियो । नेपालको सहमति र अनुमतिविना गरिएको त्यो निर्णयको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज पनि घोर भर्त्सना गर्दछ ।

विज्ञप्तिमा अगाडि भनिएको छ,यही दुःखदायी घटनाको पृष्ठभूमिमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा चीनका विदेशमन्त्रीले यस अवसरमा लिपुलेक प्रकरणमा भएको गल्ती चीनका पक्षबाट सच्याउने सार्वजनिक वचनबद्धताका साथ गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछ । लिपुलेकमा नेपाल–चीन सिमाना छुट्ट्याउने स्तम्भ रहेको स्थान नेपाल, भारत र चीनबिचको त्रिदेशीय विन्दु हो भन्ने स्थापित हुनै नसक्ने अवस्थामा लिपुलेकमाथि चीन र भारतले अन्यथा निर्णय गर्नु घोर आपत्तिजनक कुरा हो । वास्तवमा नेपाल, चीन र भारतबिचको त्रिदेशीय विन्दु लिम्पियाधुरा हो भन्ने जान्दाजान्दै चीन र भारतले लिपुलेकको कुमारीत्व भङ्ग गर्ने चेष्टा गर्नु नेपाल र नेपालीका निम्ति सह्य हुने कुरा होइन । तसर्थ मोर्चा नेपालका परराष्ट्रमन्त्रीलाई समेत आफ्ना समकक्षीसँगको वार्तामा यो विषयलाई पनि एजेन्डा बनाउन आग्रह गर्दछ ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
पढ्नुस् विज्ञप्तिको पुर्णपाठ

You might also like