मोबाइल इन्टरनेटमा भारतभन्दा नेपाल अगाडि, यी हुन् तीव्र गतिको इन्टरनेट भएका देश

विश्वको इन्टरनेट स्पीडको विश्लेषण तथा परीक्षण गर्ने कम्पनी उक्लाले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वमा मोबाइल तथा ब्रोडब्याण्ड इन्टरनेटको गतिमा उल्लेख्य रुपमा वृद्धि भैरहेको छ ।

स्पीडटेष्ट ग्लोबल इन्डेक्स नामक रिपोर्टअनुसार विश्वमा मोबाइल इन्टरनेटको स्पीडमा २१.४ प्रतिशत तथा ब्रोडब्याण्डको स्पीडमा ३७.४ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्टअनुसार विश्वमा सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट भएको देश दक्षिण कोरिया हो । दक्षिण कोरियामा मोबाइल इन्टरनेटको गति ९७.४४ एमबीपीएस रहेको छ ।

त्यस्तै सबैभन्दा तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट रहेको देशचाहिँ सिंगापुर रहेको छ । सिंगापुरको ब्रोडब्याण्ड इन्टरेनटको स्पीड १९१.९३ एमबीपीएस रहेको छ ।

सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट रहेका टपटेन देशहरु यी हुन् :

· दक्षिण कोरिया : ९७.४४
· अस्ट्रेलिया : ६३.३४
· कतार : ६१.७२
· यूएई : ६१.२४
· नर्वे : ६०.९०
· क्यानडा : ६०.७२
· नेदरल्याण्ड : ५९.५४
· स्विजरल्याण्ड : ५४.४२
· सिंगापुर : ५०.४३
· माल्टा : ५०.१४

त्यस्तै, फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको मामिलामा सबैभन्दा तीव्र गतिको इन्टरनेट भएका देशहरु यी हुन्ः

· सिंगापुर : १९१.९३
· दक्षिण कोरिया : १५६.१८
· ताइवान : १५१.७५
· हंगकंग : १५१.०२
· रोमानिया : १३०.७९
· मोनाको : १२५.६९
· एन्डोरा : ११५.८८
· अमेरिका : ११५.६७
· स्विजरल्याण्ड : ११५.३८
· मकाउ : ११४.४३

भारतभन्दा नेपाल अगाडि

मोबाइल इन्टरनेट स्पीडको मामिलामा नेपाल भारतभन्दा अगाडि रहेको रिपोर्टले देखाएको छ । नेपाल १ सय २९ स्थानमा रहँदा भारत १ सय ३० औँ स्थानमा रहेको छ ।

रिपोर्टअनुसार नेपालको मोबाइल इन्टरनेट स्पीड १०.७० एमबीपीएस रहेको छ । जबकी भारतको मोबाइल इन्टरनेट स्पीड १०.६३ एमबीपीएस रहेको छ ।

मोबाइल इन्टरनेट स्पीडको सूचकांकमा बंगलादेश १ सय ३५ औँ तथा अफगानिस्तान १ सय ४० औँ स्थानमा रहँदै नेपालभन्दा पछाडि रहेका छन् ।

त्यस्तै फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पीडको सूचकांकमा नेपाल १ सय पाचौँ स्थानमा रहेको छ । नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको स्पीड २०.३८ एमबीपीएस रहेको छ । दक्षिण एसियामा नेपालभन्दा पछाडि माल्दिभ्स १ सय २४ औँ, पाकिस्तान १ सय ५६ औँ, अफगानिस्तान १ सय ६७ औँ स्थानमा रहेका छन् । -एजेन्सीको सहयोगमा

You might also like