अदुवाप्रति स्वास्थ्य विद्हरुको चासो बढ्दै किन ?

एजेन्सी । अदुवालाई हामीले खाना वा तातो चिायामा मसालाका रुपमा प्रयोग गर्दै आएका छौँ । तर पछिल्लो समय लाभकारी गुणकै कारण अदुवाप्रति स्वास्थ्य विद्हरुको चासो बढ्दै गएको पाइएको छ ।

विभिन्न अनुसन्धानहरुले यसअघि नै अदुवाले वाकवाकी लाग्ने, पेट दुख्ने लगायतका पेट खराब भएका लक्षण कम गराउन मद्दत गर्ने प्रमाणित गरिसकेका छन् । लस एन्जलस स्थित खाद्यविद् केली लेभेक भन्छिन्, “यसलाई वाकवाकी लाग्नेलगायत पाचन सम्बन्धि समस्या समाधान गर्ने सबैभन्दा राम्रो उपाय मानिन्छ । र अदुवाका लाभकारी पक्ष देखाउन थुप्रै अनुसन्धानहरु गरिएका छन् । विभिन्न अध्ययनहरुले यो एन्टि–इन्फ्लामेटरी खाना भएको देखाइसकेका छन् भने हाम्रो शरीरमा यसले एन्टि–अक्सिडेन्टका रुपमा काम गर्ने गरेको पनि बताइएको छ ।”

२०१५ मा प्रकाशित ‘पेन मेडिसिन’ नामक जर्नलले महिनावारीका सुरुवाती दिनहरुमा अदुवाको धुलो खानाले दुखाइ कम हुने दाबी सम्बन्धि सात नियन्त्रित परीक्षणहरुको समीक्षा गरेको थियो र सकारात्मक निष्कर्ष निकालेको हो । त्यस्तै जर्नल अफ पेनमा २०१० मा प्रकाशित एउटा सानो अध्ययनमा पनि अदुवा काँचै वा तताएर खाँदा त्यसले शारीरिक अभ्यासका कारण महसुस हुने दुखाइलाई औषधिको तुलनामा २५ प्रतिशतले कम गर्न सक्ने उल्लेख गरिएको छ ।

फिजिसियन एवम् खाद्य विद् डाक्टर एडि फतखोभ भन्छन्, “मेरो विचारमा अदुवा वास्तवमै आकर्षक खाद्य वस्तु हो । यसले हाम्रो घाँटीलाई ठीक पार्नुका साथै वाकवाकी कम गराउँछ । त्यसैले झाडापखाला लाग्दा वा पेट बिसन्चो भएको अवस्थामा अदुवाले वास्तवमै मद्दत गर्न सक्छ ।”

यसको दुखाइ कम गर्ने गुणका आधारमा उनले अदुवालाई क्याप्सिकम प्रजातिसँग समान भएको बताए । क्याप्सिकमबाट बनाइने क्यापसाइसिन क्रिम दुखाइ कम गर्नका लागि प्रयोग गर्ने गरिएको छ ।

यसरी अदुवालाई भोक कम लगाउने खानाका रुपमा पनि अध्ययन गरिएको छ जसको अर्थ यसले तौल नियन्त्रणमा समेत भूमिका खेल्न सक्छ । यसरी अदुवा कसरी सेवन गर्दा सबैभन्दा प्रभावकारी हुन्छ भन्नेमा चाहिँ एडीले ताजा खाने सुझवा दिएका छन् उनले भने, “ताजा अदुवामा ‘जिन्जेरोल’ भन्ने पदार्थ हुन्छ । यो नै शक्तिशाली एन्टि–इन्फ्लामेटरी गुणको प्रमुख कारक हो ।”

उनले थप भने, “तर मैले यसलाई केही कुरासँग मिसाएर पकाएँ भने चाहिँ सो तत्व ‘जिन्जेरोन’ मा परिणत हुन्छ । जिन्जेरोन तुलनात्मक रुपमा त्यति शक्तिशाली हुँदैन । त्यसैले म यसका स्वस्थकर गुण नगुमाउन नपकाइ खान सुझाव दिन्छु । अर्को सबैभन्दा उपयुक्त तरिका भनेको यसलाई धुलो बनाएर खानु हो ।”

यसका साथै एडीले यसलाई तातो ‘ड्रिङ्क’ का रुपमा पानी वा दुधसँग मिसाएर सेवन गर्दा पनि राम्रो हुने बताएका छन् । त्यस्तै काँचो अदुवा चियामा राखेर पिउँदा पनि फाइदा गर्ने उनले बताए । सब्जीहरुको सुप बनाउँदै गर्दा त्यसमा मिसाएर पिउँदा पनि फाइदा गराउने उनको भनाइ छ । साथै बिहानपख मनतातो कागतीपानी सँग खाँदा पनि धेरै लाभ हुने उनले बताएका हुन् । सीएनएनबाट

You might also like