मलेसिया रोजगारीका लागि जाने कामदारको मेडिकल खर्च रोजगारदाताले कम्पनिलेनै बेहोर्ने

विगत १५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुलेको छ । श्रम सम्झौताको पूर्ण कार्यान्वयनसँगै मलेसिया रोजगारी शून्य लागतमा भएको छ । त्यसमध्ये स्वास्थ्य परीक्षण शुल्क सुरुमा कामदारले तिर्ने र मलेसियामा रोजगारदाताले पहिलो महिनाको तलबसँगै फिर्ता दिने व्यवस्था मिलाइएको बताइएको छ ।

दुवै देशले गत बिहीबार यस विषयमा सहमति गरेका थिए । त्यसलाई थप प्रस्ट्याउँदै काठमाडौंस्थित मलेसियन दूतावासले विज्ञप्ति निकालेर सम्झौताबमोजिम बायोमेट्रिक स्वास्थ्य परीक्षणको सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने बताएको छ । “नेपाल र मलेसियाबीच २०१८ अक्टोबर २९ मा भएको श्रम सम्झौताबमोजिम बायोमेट्रिक स्वास्थ्य परीक्षणको सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नेछन्,” विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तिमा दूतावासले स्वास्थ्य परीक्षण खर्चको ढाँचा पनि देखाएको छ । त्यसमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार लाग्ने शुल्क ४ हजार ५ सय, बायोमेडिकल सेवा शुल्क २ हजार ८ सय र भ्याट ३ सय ६४ गरी ७ हजार ६ सय ६४ रुपैयाँ हुनेछ । त्यो रकम सम्बन्धित मेडिकल सेन्टरमा कामदारले तिर्ने र रोजगारदाताले फिर्ता दिने व्यवस्था मिलाइएको हो ।

मलेसियाको रोजगारी गत वषर्को जेठ २ गतेबाट रोकिएको थियो । २०७५ कात्तिक १२ गते दुईबीच श्रम सम्झौता भए पनि स्वास्थ्य परीक्षणमा कुरा नमिल्दा कामदारहरु मलेसिया जान पाएका थिएनन् ।

मलेसियाले बायोमेट्रिक प्रणाली अबलम्बन गरेपछि मापदण्ड परीक्षण गरे ३७ मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गराउँदै आएको थियो । नेपाल सरकारले पुनः अनुगमन गरी १ सय २२ वटाको सूची तयार गरेको छ । तिनमा पुराना ३६ वटा परेका छन् । बायोमेट्रिक प्रणाली जडान गरिएका भएकाले हाललाई तिनै ३६ संस्थाबाट स्वास्थ्य परीक्षण गरिनेछ । बाँकी ८६ को नोभेम्बरमा अडिट गरी मापदण्ड पूरा गर्नेलाई थप्न मलेसिया तयार भएको छ ।

बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गर्दा मलेसियाका सरोकारवाला निकायले अनलाइनबाट तत्काल रिपोर्ट पाउँछन् । त्यसको दुईदेखि तीन दिनमा कलिङ भिसा आउँछ । पहिला त्यसलाई सरदर ३ महिना लाग्थ्यो । कागजपत्र कुरियरबाट ल्याउने–लाने गरिन्थ्यो । त्यो खर्च कामदारलाई तिराइन्थ्यो । श्रम सम्झौतासँगै कामदारको अभिभारामा कुनै खर्च पर्दैन । श्रम मन्त्रालयले त्यसको कार्यान्वयन पक्षलाई कडा अनुगमन गर्ने जनाएको छ ।

You might also like