संबिधान दिवस: मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासका लागि आफूले देखाएको सपनाको प्रतिरक्षा गरेका छन्।

संविधान र राष्ट्रिय दिवसका अवसरमा सङ्घीय राजधानी काठमाण्डूमा शुक्रवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले मुर्छित सपनामाथि आफूले पानी छम्केको बताए।

उनले भने, “भन्नकै लागि त भन्न सकिन्छ नि- खै त रेल, खै त पानी जहाज? कहाँ छ सुरुङ खनेको? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको? अझै जोड दिएर सोध्न सकिन्छ- हामीलाई सपना किन देखाएको? हामीमा आशा किन जगाएको? ”

उनले थपे, “म विनम्रताका साथ स्वीकार्छु- हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ। मैले भनेको हुँ- निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौँ।”

‘महिलाको आर्थिक पक्ष सुदृढ गर्ने कार्यक्रम छैनन्’

सरकारको नीति तथा कार्यक्रममा रेलदेखि पानीजहाजका कुरा

उपलब्धिको लामो सूचि
प्रधानमन्त्री ओलीले भविष्यप्रति आशावादी भए मात्रै कुनै पनि देश बाँच्न सक्ने बताए।

उनले भने, “मेरो काम मुर्छित सपनाहरूलाई जगाउनु र तिनीहरूप्रति विश्वास बढाउनु थियो। र, ती विश्वास साकार पार्न हरेकले प्रयास गरून्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ भन्ने थियो। मैले त्यही नै कोसिस गरेको थिएँ।”

सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो सरकार गठन भएपछिका प्राप्त उपलब्धिको लामो विवरण पनि सुनाए।

मुलुकमा सङ्घीयता र धर्मनिरपेक्षतासहितको गणतान्त्रिक व्यवस्थालाई सुनिश्चित गर्ने संविधान जारी गरिएको शुक्रवार चार वर्ष पूरा भएको छ।

संविधान र राष्ट्रिय दिवसको अवसर पारेर देशभरि सार्वजनिक बिदा दिइएको छ।

सङ्घीय राजधानी काठमाण्डूस्थित टुँडिखेलमा गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित संवैधानिक अङ्गका प्रमुख तथा उच्चपदस्थ व्यक्ति सहभागी भए।

कार्यक्रममा सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो।

संविधान संशोधन नहुने धर्मग्रन्थ होइन: ओली

संविधान संशोधन विधेयक अस्वीकृत

प्रदेश नम्बर दुईमा विरोध
सरकारले भव्य रूपमा संविधान दिवस मनाइरहँदा खासगरी तराईकेन्द्रित कतिपय दल र नेपाल आदिवासी जनजाति महासङ्घ आदिले संविधान संशोधनको माग गर्दै विरोध प्रदर्शनहरू गरेका छन्।

प्रदेश नम्बर दुईमा बिहान प्रभातफेरी कार्यक्रम राखिएको भए पनि त्यसमा सरकारका उच्चपदस्थ कर्मचारीहरू भने उपस्थित नभएको जनकपुरस्थित हाम्रा संवाददाता बृजकुमार यादवले बताए।

त्यस्तै उक्त प्रभावफेरी कार्यक्रममा प्रदेश नम्बर दुईका मुख्यमन्त्रीसहित मन्त्रीहरूको पनि उपस्थिति नरहेको उनले बताए।

“आज प्रदेश नम्बर दुईमा समाजवादी पार्टीले ‘संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यक्रम गरेको छ भने राष्ट्रिय जनता पार्टीले चाहिँ संविधान जलाउने जस्ता विरोध प्रदर्शनका कार्यक्रमहरू राखेका छन्,” यादवले भने।

आदिवासी जनजातिको विरोधमा

त्यस्तै जनजाति महासङ्घ लगायतले संविधान दिवसलाई ‘कालो दिन’को सङ्ज्ञा दिएर विरोध गरेका छन्।

त्यसको कारणबारे नेपाल आदिवासी जनजाती महासङ्घका अध्यक्ष जगतबहादुर बरामले भने, “हामीले संविधानको संशोधनको माग गर्दै आएपनि सरकारले त्यसका लागि प्रक्रियासमेत थालेको छैन। त्यसैको विरोधमा हामीले आज कालो दिवस मनाउन लागेका हौँ।”

उनले देशमा जाँदा सात प्रदेश नभई पहिचानका आधारमा ११ प्रदेश हुनुपर्ने जस्ता आफ्ना माग रहँदै आएको बताए।

“सरकारले तुरुन्तै संविधानको संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्छ र संविधान कार्यान्वयन गराउँदा संविधानको मर्म र भावनाअनुसार कार्यान्वयन गराउनुपर्छ। अनि मात्रै हामी संविधानलाई दीपावली गरेर मनाउँछौँ। नभए कालो दिवसकै रूपमा मनाउँछौं,” आदिवासी जनजाति महासङ्घका अध्यक्ष बरामले भने।

देश सङ्घीयतामा जाँदा खर्चिलो भयो भनेर संविधान र सङ्घीयतालाई कमजोर बनाउन सरकार नै लागेको आरोप उनले लगाए।

“संविधान संशोधन गर्ने विश्वस्त आधार दिनुपर्छ। संविधान संशोधन गर्नुपर्ने तपाईँहरूको माग ठिक छ भन्ने अनि माग पूरा गर्ने प्रक्रिया अघि नबढाउने, ” बरामले भने, “हामी उधारोमा सहमति सम्झौता गरेर नेपाली जनता अथवा आफ्नो समुदायलाई धोखा दिन सक्दैनौँ।”

You might also like