हाई क्यालोरी भोजन भन्दा दाल भात नै राम्रो

काठमाडौँ – हाई क्यालोरी भोजन भन्दा दाल भात नै राम्रो, भोजन नै पहिलो औषधि हो ।

आयुर्वेदले हजारौँ वर्षदेखि भनि आएको कुरा सत्य साबित भएको छ । आयुर्वेदमा भोजनलाई विशेष महत्व दिइन्छ । आयुर्वेद भन्छ, ‘सम्यक र समुचित भोजनले रोगबाट टाढा राख्छ ।’

भर्खरै जर्मनीको ल्यूबेक यूनिवर्सिटीमा गरिएको शोधले नेपाली तथा भारतीय किसिमको परम्परागत भोजनले कैयन आनुवांशिक बिमारी हुनबाट जोगाउने प्रमाणित गरेको छ। यस शोधले बिमारीको प्रमुख कारण डीएनए मात्रै नभएर यसमा भोजनको भूमिका त्यो भन्दा पनि महत्वपूर्ण हुने थाहा भएको छ । भोजनले कैयन बिमारी हुनबाट जोगाउने कुरा पनि प्रमाणित भएको छ ।

ल्यूबेक युनिवेर्सिटीका प्रोफेसर राल्फ लुडविजको नेतृत्वमा तीनजना अन्य वैज्ञानिक सम्मिलित शोध टोलीले गरेको रिपोर्ट भर्खरी ‘नेचर’ पत्रिकाले प्रकाशित गरेको छ । शोध टोलीमा रूसका डा. अर्तेम वोरोवायेव, इजरायलको डा. तान्या शेजिन र भारतका डा. यास्का गुप्ता रहेका थिए ।

शोध टोलीले मुसामाथि दुई वर्षसम्म गरिएको अनुसन्धानबाट थाहा हुन आयो, पश्चिमी देशमा उपभोगमा ल्याइने उच्च क्यालोरीयुक्त भोजनले आनुवांशिक मानिने रोगमा वृद्धि गराउँछ, तर भारतीय महाद्वीपमा सेवन गरिने कम क्यालोरीको परम्परागत भोजनले आनुवांशिक रोगमा रोकथाम गर्छ । डा. यास्का गुप्ता भन्छन् ‘अहिलेसम्म वैज्ञानिकहरुले आनुवांशिक रोगलाई डीएनएको आँखाले मात्रै हेर्ने गरेका थिए। हामीले आफ्नो अनुसन्धानमा आनुवांशिक रोगमा भोजनको दृष्टिकोणबाट अध्ययन गर्यौँ ।’

अनुसन्धानका क्रममा डाक्टरहरुले ‘ल्यूपस’ नामक रोगबाट ग्रसित मुसामाथि प्रयोग गरे । ‘ल्यूपस’ आनुवांशिक रोग हो यसको सोझो सम्बन्ध डीएनएसँग रहेको हुन्छ । माता पितामा रहेका गुण व दोष दुवै डीएनए मार्फत नै अर्को पुस्तामा हस्तान्तरित हुन्छन् ।

‘ल्यूपस’ रोग भने ‘अटो इम्यून’ किसिमको रोगमा पर्छ। यस रोगमा शरीरको ‘इम्युनसिस्टम’ ले शरीरका अन्य अंगलाइ हानि पुर्याउने गर्छ। यस रोगबाट ग्रसित प्राणीको शरीरका विभिन्न अंग तथा प्रणाली जस्तै विभिन्न जोर्नी, किड्नी मुटु, फोक्सो र रक्त कणिका नराम्ररी प्रभावित हुन्छन् र आफ्नै ‘इम्युनसिस्टम’ ले यिनलाई नष्ट गर्न थाल्छ ।

अनुसन्धानको रिपोर्ट अनुसार पश्चिमी देशमा प्रचलित रहेका उच्च क्यालोरी युक्त खाने कुरा पिज्जा, बर्गर जस्ता फास्टफुडले आनुवांशिक रोगलाई झनै बढाउने गर्छ ।

नेपाल र भारतको परम्परागत कम क्यालोरी युक्त शाकाहारी भोजन जस्तै दाल भात, साग सब्जी र खासगरी बेसारको प्रयोगले यस्ता अनुवांशिक रोगबाट शरीरको रक्षा गर्छ, यिनको रोकथाम गर्छ ।

नतिजामा के देखियो भने पहिलो समूहका मुसा ‘ल्यूपस’ रोगले ग्रस्त बन्न पुगे, यिनको अवस्था नाजुक बन्न पुग्यो भने दोश्रो समूहका मुसा ‘ल्यूपस’ रोगबाट जोगिए, यी मुसाहरुमा ‘ल्यूपस’ रोग हुर्किन पाएन ।

You might also like