कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त’ : विश्वप्रकाश शर्मा

कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त’
विर्तामोड । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–१ ले संविधान दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रवक्ता शर्माले बाइडबडी खरिद प्रकरण, एनसेलको कर छली प्रकरण लगायत ठूला भ्रष्टाचारजन्य घटनाहरुमा कम्युनिष्ट नेताहरुकै संलग्नता रहेको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेसले शिक्षा, स्वास्थ्य, सञ्चार, आर्थिक विकासका लागि थुप्रै काम गरेको तर प्रचार नहुँदा यसबारे सर्वसाधारण जनता अनजान रहेको बताउँदै प्रवक्ता शर्माले प्रश्न गर्नुभयो–‘ प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा जनताले एउटा हापकोट लगाएर बाटोको झार उखेल्ने, गाडी पुछ्ने रोजगारी खोजेका हुन् ?’
रोजगारी सिर्जनाका लागि उद्योगधन्दा स्थापनाभन्दा पनि कार्यकर्ता पाल्नकै लागि राज्यलाई ऋण बोकाउने कम्युनिष्ट चरित्र चिन्न जनतालाई आग्रह पनि गर्नुभयो ।
झापा क्षेत्र नं–१ का सभापति मणि उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, केन्द्रीय प्रतिनिधिद्वय विन्दिया कार्की र रमेशजंग रायमाझीलगायतले बोल्नुभएको थियो । मेचीनगर सभापति इन्द्र बुढाथोकीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन हरि बुढाथोकीले गर्नुभएको थियो ।
सो कार्यक्रममा नेपाल परिवार दलका प्रतिनिधिसभा सांसदका उम्मेद्वार रत्नकला पराजुली लगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने ३२ जनालाई प्रमुख अतिथि शर्माले कांग्रेसको साधारण सदस्यता प्रदान गर्नुभयो ।
यसैबीच जागरण अभियानका लागि झापा क्षेत्र नं–२ प्रदेश क का केन्द्रीय प्रतिनिधि बसन्त भट्टराइले बाइडबडी भ्रष्टाचार प्रकरण, सुनकाण्ड र ललितानिवास जग्गा प्रकरणसहितका अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाही नगरेर सरकारले संविधानको धज्जी उडाएको बताउनुभएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ को आयोजनामा झापाको विर्तामोडमा आयोजित संविधान दिवस आजको चुनौति र अबको भूमिका विषयक विचारगोष्ठीलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नेता भट्टराइले यस्तो धारणा राख्नुभएको हो ।
विचार, नीति र सिद्धान्त नमिल्ने नेकपा माओवादी र नेकपा एमालेबीचको एकता सत्तामा बसिरहने उद्देश्यले मात्रै प्रेरित रहेको उहाँको भनाई थियो ।
कार्यक्रमका विशेष अतिथि तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले संविधान निर्माणका बेला देखिएको सकसबारे जानकारी दिदै तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र संविधानका मस्यौदाकार कृष्णप्रसाद सिटौलाको अडानकै कारण संविधान आएको बताउनुभयो ।
संविधान सम्पूर्ण जनताको साझा एजेण्डा समेटिएको साझा दस्तावेज भएको बताउँदै नेता शिवाकोटीले संविधान कार्यान्वयनका चरणमा वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले देखाएको नकारात्मक रवैयाले जनता नै संविधानको विपक्षमा जाने हुन् कि ? भन्ने खतरा देखिन थालेको बताउनुभयो । जनताको आक्रोसको सम्बोधन प्रतिपक्षी दल कांग्रेसले पनि गर्न नसकिरहेको उहाँको टिप्पणी छ ।
कार्यक्रमका विशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले सरकार अधिनायकवादी र निरंकुश शैलीमा हिडिरहेको आरोप लगाउँदै ठूलो चुनौतिका बीचबाट ल्याइएको संविधानको संरक्षण र अक्षरशः पालना गर्न सरकारलाई सचेत गराउनुभयो ।
जागरण अभियानका लागि झापा क्षेत्र नं–२, प्रदेश ख का प्रतिनिधि डा. सुनिल शर्मा, पूर्व सांसद डिल्ली सिटौला, अमृतलाल राजवंशीलगायतले मन्तब्य राख्दै सत्ताले संविधानको पालना गरे जनस्तरबाट विरोध नै नहुने टिप्पणी गर्नुभयो ।
झापा क्षेत्र नं–२ का कांग्रेस सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति धर्म लक्सम्बा र सञ्चालन किरण श्रेष्ठले गर्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं–४ मा संविधान दिवसको अवसर पारेर दुधेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं–४ को आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दिपेन्द्र सेन्दाङ, लोकप्रसाद संग्रौला, भक्ति सिटौला, गोपाल उप्रेती, सुन्दरा लुहागुन, रतन थिङ्लावो, कविता बस्नेत, पर्शुराम ढुङ्गाना लगायतले संविधान दिवसका सन्दर्भमा आ–आफ्नो धारणा राख्नुभयो ।
क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कमल भण्डारी र सञ्चालन शिव कडेलले गर्नुभएको थियो ।
यसैगरी संविधान दिवसकै अवसर पारेर झापा क्षेत्र नं–५ को क को गौरीगञ्जमा विचार गोष्ठी सम्पन्न भएको छ ।
केन्द्रीय प्रतिनिधि शेखरचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रोहितकुमार शाह, ढुण्डीराज भण्डारी, रामकुमारी पौडेल, कमलेश्वर यादव, यादवराज सेढाई, दिपेन्द्र थापा, खगेन भण्डारीलगायतले मन्तब्य राख्नुभयो ।
राजेन्द्र कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गंगाप्रसाद राजवंशीले स्वागत र गोपाल पौडेलले सञ्चालन गर्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं–५ ख मा कमल गाउँपालिका वार्ड नं–५ र ६ का प्रजातान्त्रिक योद्धाहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नं–५ प्रदेश ख ले संविधान दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा प्रजातान्त्रिक योद्धा तथा नेपाली कांग्रेसका पूर्व सभापति पूर्णानन्द शर्मासहितको टोलीले प्रजातान्त्रिक योद्धाहरु गोविन्द शिवाकोटी, नरेन्द्र सापकोटा, टेकवहादुर काफ्ले, भिम ताजपुरिया, रामप्रसाद उप्रेती, विनोद दाहाल, समनिया ताजपुरिया, दिनबन्दु राजवंशी, शिवनाथ प्रधान, विर्खवहादुर कार्की लगायतको घर–घरमा पुगेर सम्मान गरिएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयोे ।
टोलीमा ५ नं वडा सभापति एकराज पोखरेल, ६ नं वडा सभापति रोशन दाहाल, भूमिराज राई, कृष्ण धिमाल, हुकुमसिंह राई, धर्मानन्द भट्टराई, राजकुमार न्यौपाने लगायत सहभागी हुनुहुन्थ्यो ।
यसैबीच नेपाली कांग्रेस झापा क्षेत्र नं–३ ले प्रदेश क र ख का मुख्य चोकहरुमा साँझ दिपावलीको कार्यक्रम राखेको छ भने क्षेत्र नं–५ ले दमकको गणतन्त्र चोकमा दिपावलीको कार्यक्रम राखेको क्षेत्रीय सभापति भण्डारीले जानकारी दिनुभयो ।

You might also like