सरकारको निर्ण विरुद्ध नेविसंघद्धारा चरणवद्ध आन्दोलनको घोषणा,देशभर विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । नेतृत्वविहीन अवस्थामा रहेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काप्mलेले आइतबार विज्ञप्ति जारी गरेर विषाक्त तरकारी निर्यातको विरोधमा सरकारविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गर्ने भएको छ । यस्तै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने कार्यक्रम तय गरेको छ ।
असार २५ गते विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गरिने विज्ञप्तिमा उल्लेख छ । नेविसंघले असार २६ गते मसाल जुलुस र असार २७ गते माइती घरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने भएको छ ।
नेविसंघले आइतबार पनि विषाक्त तरकारीसहित काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो । तरकारीको विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट केही दिनमै सरकार पछि हटेको विरोधमा प्रदर्शनीमार्गमा तरकारीसहित प्रदर्शन गरिएको निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

You might also like