ग्रीसको आमनिर्वाचनमा मध्य दक्षिणपन्थी दल विजयी

समयअगावै गराइएको ग्रीसको आमनिर्वाचनमा मध्य दक्षिणपन्थी दल न्यू डेमोक्र्यासी विजयी भएको छ।

अधिकांश जिल्लाको मतगणना भइसक्दा बहालवाला प्रधानमन्त्री एलेक्सिस सिप्रासले आफ्ना प्रतिद्वन्द्वी क्रियाकस मिट्शोटाकिससँग पराजित भएको स्वीकारेका छन्।

न्यू डेमोक्र्यासीले अहिलेसम्म ३९ दशमलव ८ प्रतिशत मत हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको सिप्रासको सिरिजा पार्टीको पोल्टामा ३१ दशमलव ६ प्रतिशत मत खसेको छ।

अहिलेको प्रक्षेपणले न्यू डेमोक्र्यासीलाई पूर्ण बहुमत दिएको छ। उसले संसद्‌मा ५० वटा थप सिट जितेको छ।

जनादेश
हालसम्म ८८ प्रतिशत जिल्लाका मतगणना सकिसकेको छ।

समर्थकहरूबीच बोल्दै प्रधानमन्त्रीमा निर्वाचित मिट्शोटाकिसले मतदाताहरूले आफूलाई परिवर्तनका लागि जनादेश दिएको बताए।

“देश गर्वका साथ फेरि शिर उठाएको छ,” राजधानी एथेन्समा समर्थकहरूको भिडलाई उनले भने।

विभाजित भएर बस्नका निम्ति ग्रीकहरू निकै थोरै भएको भन्दै मिट्शोटाकिसले आफू सबैका नेता हुने बताए।

नतिजा स्पष्ट भएपछि बहालवाला प्रधानमन्त्री सिप्रासले मिट्शोटाकिसलाई बधाई दिएको पुष्टि गरे।
पत्रकारहरूलाई उनले भने, “आज हामी शिर ठाडो राख्दै जनादेश स्वीकार्छौँ। आज ग्रीस जहाँ छ त्यहाँ ल्याउनका निम्ति हामीले ठूलो राजनीतिक मूल्य चुकाएर कठिन निर्णयहरू लिनपरेको थियो।”

प्रतिक्रिया
आमनिर्वाचनमा करिब ५७ प्रतिशत मतदाताले मत खसालेका थिए, जुन केही दशकयताकै कम हो।

प्राविधिक रूपम त्यहाँ मतदान अनिवार्य छ। यद्यपि त्यससम्बन्धी नीति लागु भएको छैन।

ग्रीसमा गत एक दशकमा छ वटा चुनाव भएका छन् र आइतवार मतदान भइरहँदा ३५ डिग्री सेल्सियस तापक्रमसँग जुझ्न धेरै मानिसहरू समुद्रका किनार पुगेका थिए।

एथेन्सस्थित बीबीसी संवाददाता मार्क लोवेन आफ्नो विश्लेषणमा भन्छन्, “चुनावी नतिजा आइरहँदा एथेन्सका सडकहरूमा मध्यम खालको प्रतिक्रिया थियो।”

न्यू डेमोक्र्यासी पार्टी जित्ने अपेक्षा गरिएको थियो र भिडहरू जुलुसमा नभई समुद्री तटमा थिए।

You might also like