नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवस आज

काठमाडौं,

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवस आज मनाइँदैछ । दिवसका अवसरमा पुष्पलालको सम्झनामा आज विविध कार्यक्रम गरिने नेकपाले जनाएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा आज कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यानमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरिनेछ ।

वि.सं. १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शवसमेत नेपाल ल्याउन दिएको थिएन । वि.सं. १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्नका लागि उहाँले राजनीतिक यात्रा शुरु गरेका थिए ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाललाई नेपालभरिका कम्युनिस्ट पार्टीले सम्झने गरेका छन् । उनले स्थापना गरेको कम्युनिस्ट पार्टी विभिन्न टुक्रामा विभाजित भएपनि गतवर्ष एकिकरण गरेको नेकपा अहिले सत्तामा छ । तत्कालिन एमाले र नेकपा माओवादी केन्द्र एकिकरण भएका भएपनि अन्य साना कम्युनिस्ट दलहरु दर्जनौं टुक्रामा विभाजित छन् ।

पुष्पलालले आफू कम्युनिस्ट बन्नुभन्दा पहिले बनारसमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस पार्टीको कार्यालय सचिव भएर काम गरेका थिए । पुष्पलालले वि.सं २००६ मा निरंजनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलाससहित मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । कांग्रेस छाडेपछि चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्व युद्धबारे समेत उनले अध्ययन गरेपछि नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापनाको आवश्यकता महसुस गरी नेकपा स्थापना गरेका थिए ।

You might also like