बलात्कारको मुद्दामा घटनास्थल परिवर्तन गरी फसाउन खोजेको आरोप

बाँके । जिल्ला अदालत बाँकेमा दर्ता भएको वैवाहिक बलात्कारको मुद्दामा प्रहरीले घटनास्थल परिवर्तन गरी फसाउन खोजेको आरोप लागेको छ । वैवाहिक बलात्कार कुटपिट र अङ्गभंग सम्बन्धी एक मुद्दामा प्रहरीले झुठो मुचुल्का तयार गरी घटनास्थल नै परिवर्तन गरेको हो । पीडित परिवारले नेपालगन्जमा पत्रकार सम्मेलन गरी कैलालीमा भएको भनिएको घटनालाई प्रहरीले बाँकेको कोहलपुरमा भएको नक्कली मुचुल्का तयार पारी आफ्नो निर्दोश छोरालाई फसाउन खोजेको भन्दै बुवा रेशमबहादुर मल्लले आपत्ती जनाएका छन् ।

‘घटनावारे बुझ्न प्रहरी अहिलेसम्म पनि हाम्रो घरमा पुगेको छैन,’ उनले भने, ‘तर, कैलालीमा भएको भनिएको घटनालाई कोहलपुरमा हाम्रो घरमा भएको भनेर झुठो मुचुल्का तयार पारिएको छ ।’ उनका अनुसार घरपरिवारलाई थाहै नदिएर भागेर विवाह गरेका छोरा बुहारी कैलाली धनगढी–१३ स्थित राजपुरमा कपडा पसल गरेर बस्दै आएका थिए । अघिल्लो पतिलाई त्यागेर बसेकी महिलालाई छोराले लिएपछि आफुहरुले नराम्रो मानेकै कारण विहे गरेदेखि हालसम्म घरमा कहिल्यै उनीहरु आएका थिएनन् ।

उनले भने, ‘छोराको भनाई अनुसार धनगढी–१३ स्थित राजपुरमा बुहारी छतबाट खसेर चोट लागेपछि छोराले से १ ज ९४६ नं.को हायसमा रिर्जव गरी उपचारका लागि निर्सग अस्पताल धनगढी ल्याएका थिए ।’ त्यहाँ सन्चो नभएपछि थप उपचारका लागि वेस्र्टन अस्पताल नेपालगन्जमा ल्याएर उपचार गरेको थियो । उक्त कुरा अस्पतालको पर्चा लगायत कागजातवाट पनी थाहा हुने पीडितका बुवा मल्लले बताए । तर, गत असार १३ गते बुहारीले इलाका प्रहरी कार्यालय, कोहलपुरमा वैवाहिक बलात्कार र कुटपिट अङ्गभंगको जाहेरी दिइन् । वैशाख ८ गते धनगढीमा भएको घटनाको ६५ दिनपछि श्रीमानविरुद्ध जाहेरी दिएको देखिन्छ ।

‘जाहेरी १३ गते दिए पनि प्रहरीले असार ९ गते कोहलपुरस्थित हाम्रो घरको घटनास्थल मुचुल्का गराएको रहेछ,’ बुवा रेशमले भने, ‘त्यो दिन हामी घरमै छौं, प्रहरी यहाँ नआएरै झुटो बारदातस्थल कायम गरेको छ । साक्षी राख्दा घर नजिकैका छिमेकीलाई राख्नुपर्नेमा घरभन्दा टाढाका ब्यक्तिलाई राखिएको छ ।’ सो मुद्दामा जिल्ला अदालत बाँकेले साउन १५ गते थुनछेकको आदेश दिई छोरालाई कारागार पठाएको उनले बताए । अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै बुवाले आदेश बदर गरी तारेखमा राखी पाउँ भन्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा निवेदन दर्ता गरेको बताए ।

उनले धनगढीमा राजपुरस्थित कोठाको छतबाट बुहारी खसेको विषयलाई लिएर जाहेरीवाला र इलाका प्रहरी कार्यालय, कोहलपुरको मिलोमतोमा झुठा बारदातस्थल देखाई निर्दोष छोरालाई फसाउने प्रपञ्च रचेकोले न्यायका लागि सहयोग गर्न आव्हन गरेका छन् । यो घटनासँग सम्वन्धीत सत्यतथ्य उपचार गरेको अस्पतालको कागजात, गाडी रिर्जव गरेको बिल भरपाई आफुसँग सुरक्षित रहेकोले सत्यतथ्य अनुसन्धान गर्न उनले सरोकारवालाहरुसँग माग गरेका छन् । उनले निर्दोश व्यक्तिलाई झुटो विवरण बनाइ जबरजस्ती फसाउन खोज्ने प्रहरीलाई कार्वाहीको मागका लागि समेत अनुरोध गरेका छन् ।

You might also like